सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको अवरोधका कारण स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज (बुधबार) बस्दैछ ।

एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गरेपछि हिजोको प्रदेशसभा बैठक स्थगित भएको थियो ।

प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो । पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पोख्नुभएको थियो ।

दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए ।

हिजो बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच लामो वार्ता भए पनि सहमति हुन नसक्दा बैठक बस्न सकेन।

दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले जेठ २६ गते अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १०:५७