सूचनाको शक्ति - The Power Of Information

        

असार मसान्तभित्र सदस्यता नवीकरण गर्न एमालेको निर्देशन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले असार मसान्तभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदन टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमालेले असार मसान्तभित्र सदस्यको विवरण अद्यावधिक गर्न निर्देशन दिएको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

“असार मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण तथा नयाँ पार्टी सदस्यहरूको आवेदन फारम भरी अध्यावधिक गरी प्रदेश संगठन कार्यालयमा पठाइसक्न निर्देशन दिइएको छ,” राईले भने ।

एकीकरणपूर्व एमालेले झण्डै पाँच लाख क्रियाशील, संगठित सदस्य रहेको जिकिर गर्दै आएको थियो । डिजिलट लगत पनि राखेको थियो । एकीकरणयता पनि सदस्यता नवीकरण हुन सकेको छैन ।

अहिले महाधिवेशन लक्षित गरेर सदस्यता नवीकरण थालिएको बताइएको छ । एमालेले आगामी मंसिरमा महाधिवेशनको तिथि तय गरेको छ । मंसिर २ गतेदेखि ६ गतेसम्म १० औँ महाधिवेशन गर्ने उसको योजना छ ।

एमाले विवाद उत्कर्षमा रहेको र झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अदालतको फैसलाअनुरूप जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका बेला सदस्यता नवीकरण पनि विवादमा पर्ने देखिन्छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १०:४७