सूचनाको शक्ति - The Power Of Information

        

कडा सुरक्षाबीच सुर्खेतको राउटे वस्ती ‘सिल’, घटनाबारे राउटे समुदाय अनविज्ञ

सुर्खेत । राउटे युवतीमाथि दुव्र्यवहार भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे वस्ती सिल गरेको छ । राउटे समुदायबाटै पीडित युवतीमा जोखिम बढ्ने त्रासका कारण कडा सुरक्षाका बीचमा वस्ती सिल गरिएको हो ।

१९ र २३ वर्षकी ती युवतीहरूलाई होटलमा लगेर मदिरा सेवन गराइ जबर्जस्ती करणी गर्न खाेजेका थिए । उनीहरूले राउटे युवतीमाथि अश्लिल हर्कत गर्दै भिडियाेसमेत खिचेका थिए ।

युवतीहरू माथि भएको यौन दुर्व्यवहार सम्बन्धी घटनाबारे अझै पनि राउटे समुदाय जानकार छैन । घटनाबारे समुदायलाई जानकारी भएमा समुदाय भित्रैबाट जघन्य दण्ड दिने त्रासले प्रशासनले वस्ती सिल गरेको हो । राउटे वस्तीमा मानिसहरूको आवागमन रोक्नका लागि प्रहरी परिचानल गरिएको छ ।

युवतीहरूमाथि जबर्जस्ती गर्ने गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनविरुद्ध किटानी जाहेरी परेको छ । उनीहरूविरुद्ध मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय भाइरल हुने उद्देश्यले राउटे वस्तीमा गएर युट्युब, टिकटक फेसबुकलगायतका सामाजिक सञ्चालमा राउटेसँग तस्बिर र भिडियो लिनेहरूको भीडसमेत लाग्ने गरेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १८:५४