सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं उपत्यकामा असारदेखि आंशिक निषेधाज्ञाको तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा असारदेखि आंशिक निषेधाज्ञा लगाएर जनजीवन केही सहज बनाइने भएको छ । यसका लागि विभिन्न निकायबीच अनौपचारिक छलफल जारी छ ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । जेठ मसान्तसम्म जारी निषेधाज्ञामा खाद्यान्न र अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

पछिल्लो दुई सातायता उपत्यकामा संक्रमण र मृत्युदरमा पनि कमी आएको छ । असारमा कर संकलन गर्ने महिना भएकाले पनि आंशिक निषेधाज्ञा लागु हुन सक्ने कतिपयको बुझाइ छ ।

सुरक्षा अधिकारीहरु भन्छन्, “अहिलेकै अवस्था हेर्दा असारदेखि उपत्यकामा आंशिक निषेधाज्ञा जारी हुनसक्छ । यस्तोमा ट्याक्सी, निजी सवारी–साधन पनि चल्न सक्छन् । अब सुरक्षित हिसाबले जनजीवन सहज बनाउनतर्फ केन्द्रित हुन जरुरी छ ।”

अहिले नै पूर्ण निषेधाज्ञा खोल्ने सम्भावना भने न्यून रहेको सुरक्षा अधिकारीहरुको तर्क छ । पूर्ण रुपमा निषेधाज्ञा खोल्दा स्थिति नियन्त्रणबाहिर पनि जान सक्ने भएकाले अहिल्यै पूर्ण खुला गर्न नहुने उनीहरु बताउँछन् ।

तर, संक्रमण दर बढेमा फेरि एक सातासम्म निषेधाज्ञा लम्बिन सक्ने सम्भावना रहेको सरकारी अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतवार १२:५७