काठमाडौं । काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ ।
बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गरिएको जानकारी दिए ।
बुधबार बिहान १० बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । बैठकले थप एक साता निषेधाज्ञा थप्ने तयारी समेत गरेको छ ।
भट्टराईका अनुसार काठमाडौं उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ । निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय सीडीओहरुले गर्न लागेका हुन् ।
निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो । अबभने निर्माणको क्रममा स्वास्थ्य मापदण्ड भने लागू गर्नुपर्ने शर्त राखेर उक्त खएको छ ।
अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक सवारी भने नखुल्ने भएको छ । भट्टराईले अहिले नै सार्वजनिक सवारी खोल्ने विषयमा छलफल नै नभएको जानकारी दिए ।
कोरोनाको महामारी साम्य नलागिसकेकोले अहिले नै सवारी साधन खुला गर्दा यसले समस्या जटिल हुने जिल्ला प्रशासनका अधिकारीहरुको बुझाइ छ ।
।