सूचनाको शक्ति - The Power Of Information

        

आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज (मंगलबार) संवैधानिक इजलासमा हुदै छ ।

शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने बताइएको छ ।

तर इजलासमा रहेका न्यायाधीशमाथि नै कानून व्यवसायीले प्रश्न उठाएपछि आजको संवैधानिक इजलास कस्तो हुन्छ भन्ने सबैको चासोको विषय छ ।

इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि हिजो यस सम्बन्धि निर्णय आउन सकेन । इजलासबाट हट्नुपर्ने वकिलहरूको मागलाई दुवैले अस्वीकार गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा केसी र श्रेष्ठलाई इजलासमा बस्ने नबस्ने बारे निर्णय लिन आग्रह गरेपछि उनीहरुले वकिलले भनेकै भरमा आफुहरुले इजलास नछोड्ने अडान राखेका हुन् ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको रोष्टरमा रहेका सबै १३ न्यायाधीश बसेर यस विषयलाई टुंगाउनुपर्ने बताए पनि उनीहरुको प्रस्तावलाई प्रधानन्यायाधीश राणाले अस्वीकार गरेका छन् ।

संवैधानिक इजलास कै विषयमा विवाद बढेपछि न्यायाधीशद्वय कार्की र भट्टराईले रोष्टरमा रहेका न्यायाधीशसँग सोमबार छलफल गरेपनि आज निर्णयमा पुग्ने बताइएको छ ।

यस बारेमा उनीहरुले निर्णय गरिसकेका छैनन् । इजलास गठन नै पेचिलो बन्दै गएपछि सर्वोच्च अदालतले संसद विघटनको मुद्दालाई कसरी अगाडी बढाउँछ भन्ने अन्योलता देखिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०९:४७