सूचनाको शक्ति - The Power Of Information

        

डिसीसीएमसीलाई अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण

बझाङ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी) बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा बझाङस्थित साझेदार संस्था प्रगतिशिल युवा समाजको समन्वयमा २२ लाख ६४ हजार ७२८ रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७० थान अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, ७० वटा पिपिइ सेट, ६ प्याकेट सर्जिकल मास्क, ३६ वटा एन ९५ मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । स्वास्थ्य सामग्री बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले जिल्लामा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमितहरु देखापर्ने गरेका छन् ।

जिल्लामा हालसम्म १५ सय जनामा कोरोना संक्रमण देखिसकेको छ भने १७ जनाको मृत्यु भैसकेको छ । यो जटिल परिस्थितिमा सरकारी खर्चबाट जुटाएको स्वास्थ्य सामाग्री अपर्याप्त भैरहेको समयमा वल्र्ड भिजन इन्टरनेसनल नेपाल र प्रगतिशिल युवा समाजले गरेको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । यो सामाग्रीले कोभिड रोकथामका लागी महत्वपूणर् मद्दत पुग्ने प्रजिअ अधिकारीको विश्वास छ ।

उनले यो जटिल परिस्थितिमा स्वास्थ्य सामाग्री सहयोग गरेको धन्यवादसमेत दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दिप ओखेडाले संस्थाले गरेको स्वास्थ्य सामाग्रीले कोभिड रोकथाममा संस्थाले इँट्टा थपेको बताए । ओखेडाले भने, ‘अक्सिजन सिलिन्डरहरु खाली हुने त्यो भर्न धनगडी, नेपालगन्ज लिनुपर्ने र कहिले आउला भनेर कुरेर बस्नुपर्ने अवस्था केही हदसम्म कमी हुनेछ ।’

उनले संस्थाले अक्सिजन सिलिन्डर लगायत अन्य स्वास्थ्य सामाग्रीले विरामीहरुलाई मात्र नभएर हामी स्वास्थ्यकर्मीलाई पनि उपचारमा धेरै सहजता हुने पनि बताए । संस्थाले ७० वटा सिलिन्डरमा केदारस्युँ गाउँपालिकामा पाँच वटा अक्सिजनसहितका सिलिन्डर पठाएको छ । संस्था केहि बर्षयता स्थानीय तहहरुसँग समन्वय गरेर जिल्लाका गाउँपालिका तथा नगरपालिकामा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १८:५८