सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

पार्टी फुटाएर जसपा सरकारमा जाने पक्का

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ । सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो ।

राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन् । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो माग मुद्दाका साथै सरकारमा जाने बिषयमा पनि छलफल भएको जसपाका नेता लक्ष्मणलाल कणर्ले जानकारी दिए ।

‘प्रधानमन्त्री ओलीसँग अहिलेसम्म हाम्रो माग कति सम्बोेधन भए, कहिलेसम्म बाँकी सम्बोधन हुन्छन् भन्ने बिषयमा आज छलफल भएको छ,’ उनले भने । सरकारमा प्रधानमन्त्री ओलीले पहिलेदेखि समावेश हुनका लागि आग्रह गरेको भए पनि अब जाने पक्का भएको जसपाका नेता कणर् बताउँछन् ।

नेता कणर् भन्छन्, ‘अहिले ८ मन्त्री र २ राज्यमन्त्री लिएर जाने बिषयमा सहमति भएको छ । अध्यक्ष महन्त ठाकुरज्यूले सार्वजनिक रुपमा टेलिभिजनको अन्तरवार्तामा समेत बताइसक्नु भएको छ ।’ प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा पार्टीबाट को को जाने भन्नेबारेमा टुंगो नलागेको नेता कणर् बताउँछन् ।

‘सरकारमा जाने भएपछि बैठक बसेर कोको जाने भन्ने टुंगो लगाउँछौँ’ आज भोलि नै सरकारमा जान लाग्नुभएको छ भन्ने चर्चा छ नी भन्ने प्रश्नमा उनले भने, ‘पार्टीमा छलफल गर्दा दुई चार दिन लाग्नसक्छ ।’ अध्यक्ष ठाकुर समूहले संसदीय दलको नेता चयन गरेकोे राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो ।

स्रोतका अनुसार नेता महतोसहित शरतसिंह भण्डारी, अनिल झा लगायतको मन्त्री बन्ने चर्चा छ । अर्का अध्यक्ष उपेन्द्र यादव समूह छाडेर आएका सबै सांसदलाई मन्त्री बनाउनुपर्ने बिषयमा पनि छलफल भइरहेको बुझिएको छ । संसदीय दलमा बहुमत रहेको अध्यक्ष ठाकुर समूह कार्यकारिणी समितिमा अल्पमतमा छ ।

ठाकुर पक्षको सरकार प्रवेश नै पार्टी विभाजनको बिन्दु हुने आकलन गर्न थालिएको छ । अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको बहुमतको केन्द्रीय कार्यकारिणी समितीको बैठकले सरकारमा सहभागी भए स्वतः पार्टी सदस्यता समेत नरहने गरी निलम्बन हुने निणर्य यसअघि नै गरिसकेको छ ।

ओली नेतृत्वको सरकार बहिर्गमनको प्रयासरत अध्यक्ष यादव कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा उभिँदै आएका छन् । प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण सुरु भएको थियो । प्रतिनिधि सभा पुनःस्थापनापछि पनि महन्थ-राजेन्द्र समूह ओली नेतृत्वको सरकारको निरन्तरतामा रहिरह्यो ।

उपेन्द्र-बाबुराम समूह भने ओली नेतृत्वको सरकार ढाल्ने प्रयासमा रहिरहेको थियो । प्रधानमन्त्री ओलीकै कारणले गत बैशाख १० गते पार्टी एकता भएको मद्येशी दल ओलीको कारणले विभाजनको अन्तिम बिन्दुमा पुगेको छ । जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एकअर्काको विरोध गरेर बस्नुको साटो सहमतिमा हात मिलाएर आआफ्नो बाटो लाग्नुपर्ने बताइसकेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १७:०६