सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

विभाजनको अन्तिम चरणमा ‘जसपा’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटको नजिकै पुगेको छ । पार्टीका ठाकुर र यादव पक्षले एकअर्कालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अन्यथा पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएसँगै जसपा विभाजन हुने अन्तिम चरणमा पुगेको हो ।

अध्यक्ष महन्थ ठाकुरसहित चार नेताले ३ दिनभित्र स्पष्टीकरण नदिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले शनिबार पुनः २४ घण्टाभित्र जवाफ दिन माग गर्दै पत्र पठाएका छन् । यसलगत्तै अर्का अध्यक्ष ठाकुरले पनि यादवलाई उस्तै व्यहोराको २४ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण दिन पत्र पठाएका हुन् ।

दुवैका पत्रमा समयसीमाभित्र जवाफ नआए पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइएको छ । यही जेठ ८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निणर्यअनुसार अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मणलाल कणर् र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गतेभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए ।

ठाकुरले पनि यादवलाई त्यही व्यहोराको पत्र पठाएका थिए । दुवै पक्षले एकले अर्कोलाई पार्टीका नीति र निणर्यविपरीत गतिविधि गरेको आरोप लगाएका छन् । यादवले केन्द्रीय कार्यकारिणी समितिको बहुमतका आधारमा चेतावनी दिएका हुन् भने अर्का अध्यक्ष ठाकुरले आफू पहिलो अध्यक्ष भएको हैसियतमा स्पष्टीकरण मागेका हुन् ।

दुवैले दुवैलाई स्पष्टीकरणका लागि दिएको २४ घण्टे अल्टिमेटम आज सकिने र दुवै पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्ने सम्भावना रहेको जसपाकै नेताहरू बताउँछन् । जसले गर्दा जसपा पार्टी विभाजन हुने प्रबल सम्भावना छ । त्यसपछि आधिकारिताका लागि दुवै पक्ष निर्वाचन आयोग धाउने सम्भावना देखिन्छ ।

ठाकुर पक्ष प्रधानमन्त्री ओलीको समर्थन र यादव पक्ष विपक्षी गठबन्धनका पक्षमा लागेका कारण कुरा नमिलेको हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी २०७७ वैशाखमा एकीकरण गरी जसपा बनेको हो । तर एकीकरण प्रक्रिया टुंगो नलाग्दै सत्ता समीकरणका विषयमा दुई धार देखिएपछि जसपा फुटको संघारमा पुगेको हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतवार ०९:५९