बाँके । बाँकेको नरैनापुरमा खेलकुदको सम्भावना छ कि छैन भन्ने विषय उठान गर्नु नै आफैंमा चुनौति छ । पिछडिएको क्षेत्रका रुपमा रहेको नरैनापुरमा खेलकुद गतिविधि शून्य प्रायः छन् । खेलकुदको पूर्वधार र विकास पनि छैन । तत्काल खेलकुदका सम्भावना पनि देखिँदैन तर पनि पछिका लागि अहिले नै हामीले सोचेनौं, योजना बनाएनौं र कार्यान्वयनका लागि अग्रसता देखाउन सकेनौं भने त्यो दिन आउने सम्भावना नै रहँदैन । हरेक खाले विकासबाट पछाडि रहेको नरैनापुरमा खेलकुदको हालत झन् दयनीय छ ।
यसो भनिरहँदा केही पनि हुन सक्दैन भन्ने चाहिँ हैन । जनप्रतिनिधि आएपछि नरैनापुर क्षेत्रमा पनि खेलकुदको विकास हुने सम्भावना जाग्दैछ । पछिल्लो चरण नरैनापुरमा पनि खेलकुदका पूर्वाधार बनाउन सकिन्छ र खेलकुदको विकास गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ । नरैनापुर क्षेत्रमा समग्र खेलकुद विकासका लागि के कस्तो सम्भावना छ ? के के गरिनुपर्छ ? यी र यस्तै सवालमा केन्द्रित भएर यहाँ प्रस्तुत गर्न खोजिएको छ ।
नरैनापुरमा खेलकुद
नरैनापुर क्षेत्रमा सुहाउँदो खेल मैदान छैन । खेल प्रशिक्षक छैनन् । खेल पूर्वाधार छैनन् । खेल प्रतियोगिता गर्ने आयोजक र क्लवहरु पनि छैनन् तर पनि खेलकुदको सम्भावना नै छैन भनेर भन्नु उचित हुँदैन । जहाँ समस्या छ, त्यहीँ सम्भावना र समाधान पनि हुन्छन् तर त्यसका लागि स्थानीय इच्छाशक्ति र सामुहिक सहकार्य भने जरुरी छ । नरैनापुर वडा नं. २ को अलिनगरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि शिलान्यास गरिएपछि खेलकुदमा नयाँ सञ्चार भएको थियो ।
प्रदेश सरकारको एक स्थानीय तह एक रंगशाला अभियानलाई सार्थक बनाउन अत्याधुनिक रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको हो तर त्यसको सार्थकताका लागि अझै पनि अनेकन चुनौति छन् । प्रदेश सरकारले बहुवर्षीय योजनाको रुपमा नरैनापुर क्रिकेट रंगशालाको आयोजना अघि सारेको हो । आधुनिक क्रिकेट मैदान, स्विमिङ्ग पुल, लङ्ग टेनिस, बास्केट बल, भलिबल कोर्ट निर्माण गरिने बताइएको छ ।
तर, त्यसको निर्माण प्रक्रिया तीव्ररुपमा अघि बढाउन जरुरी छ । १ अर्ब ८ करोड ५४ लाखको लागतमा रंगशाला निर्माण गरिन लागिएको हो । गत वर्ष नरैनापुर गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता पनि सुरु गरियो । वडा नम्बर १ कटकुइँयामा प्रत्येक बर्ष गाउँपालिकाको आर्थिक सहयोगमा क्रिकेट प्रतियोगिता पनि हुँदै आएको छ । स्थानीय युवा तथा खेलकुद व्यवस्थापन समिति कटकुइँयाको व्यवस्थापनमा प्रतियोगिता भइरहँदा क्रिकेटप्रति स्थानीय युवाको क्रेज बढ्दै गएको देखिएको छ ।
त्यस्तै गाउँपालिकास्तरीय अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता पनि गाउँपालिकाले गर्दै आएको छ । खेलकुद प्रतियोगिताले निरन्तरता पाउने विश्वास जागे पनि विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले खेलकुदका गतिविधि ठप्पजस्तै भइरहेका छन् । तर पनि नरैनापुर गाउँपालिकाले खेलकुदलाई पनि प्राथमिकतामा राख्ने र सम्भावनाको खोजी गर्ने बताउँदै आएको छ ।
खेल पूर्वाधार
देश संघीय संरचनामा गइसके पनि खलेकुदको संरचना अझै उस्तै छ । संघीय संरचना अनुसार खेलकुद संरचना, पूर्वाधार निर्माण हुनुपर्ने हो । खेल पूर्वाधार भन्ने वित्तिकै रंगशाला, खेल मैदान, खेलकुद खेल्ने थप संरचनालाई बुझ्दछौं । खेलकुद पूर्वाधार खेल विकासका लागि अनिवार्य आवश्यकता भए पनि आवश्यकता अनुसारको पूर्वाधारको विकास भएको छैन । खेल पूर्वाधारको अझै अभाव छ ।
प्रदेश र स्थानीय तहहरू स्वायत्त छन् तर पनि तीनको प्राथमिकतामा खेलकुद पूर्वाधार परेको छैन । स्थानीय तहले गर्नु पर्ने खेलकुदका कामहरु धेरै छन् । खेलकुद पूर्वाधार निर्माण गर्न अनेकन चुनौति छन् तर चुनौति छन् भनेर जिम्मेवारीबाट पञ्छिन भने कुनै पनि मानेमा मिल्दैन । प्रत्येक स्थानीय तहले अब पूर्वाधार निर्माणमा जोड दिन जरुरी छ । तर अहिलेसम्म यो क्षेत्र त्यति प्राथमिकतामा परेको देखिँदैन । खेल पूर्वाधार निर्माणमा स्थानीय तहलाई कहीँ बाधा देखिँदैन ।
खेल प्राविधिक सवाल पनि भएकाले जनप्रतिनिधिहरुले खेल पदाधिकारी र विज्ञसँगको सरसल्लाहमा आफनो योजना, बजेट र कार्यक्रम ल्याउन आवश्यक छ । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको मैदान बनाउने भनेको छ तर त्यसको प्रक्रिया भने सबै क्षेत्रमा हुन सकेको छैन । तथापि नरैनापुर गाउँपालिकामा भने अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण प्रक्रिया अघि बढाइएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँछन् ।
स्थानीय सरकारले आफनो नीति तथा कार्यक्रम र बजेट भाषणमा खेलकुद क्षेत्रलाई महत्व दिनुपर्छ । नीति तथा कार्यक्रममा खेलकुदको विषय समावेश भएपछि नै कार्यान्वयनमा सहज हुने हो । भौतिक पूर्वाधार निर्माण पनि बजेटमै निर्भर हुन्छन् । संस्थागतरूपमा खेलकुदको विकास गर्न खेल पूर्वाधार महत्वपूणर् आधारस्तम्भ हो । तसर्थ खेल पूर्वाधार निर्माणमा सामुहिक पहलको खाँचो छ ।
कानुन र बजेट (कोष)
खेलकुदको विकासका लागि सर्वप्रथम उचित कानुन निर्माण गर्न जरुरी छ । तर त्यसतर्फ स्थानीय तहले त्यति ध्यान दिएको पाइँदैन । खेलकुदको समग्र विकासका लागि आवश्यक कानुन, नीति निर्माण बनाउन आवश्यक छ । सर्वप्रथम खेलकुदको विषयमा दृष्टिकोण नै स्पष्ट हुन जरुरी छ । खेलकुद राम्रो प्रतिफल दिने क्षेत्र पनि हो भन्ने सोच जागृत गर्न आवश्यक छ । कतिपय स्थानीय तहले सो अनुसार नीति कार्यक्रम ल्याएर अघि बढ्ने कोशिस पनि गरिरहेका छन् । नरैनापुरमा पनि विगतको तुलनामा सुधार पनि भएको छ ।
नरैनापुर गाउँपालिकाले चालू आर्थिक बर्षमा पालिका स्तरीय बृहत् खेलकुद आयोजना गर्न ५ लाख रुपैयाँ छुट्ट्याएको छ । सबैभन्दा ठूलो भनेकै बजेट हो । खेलकुद विकासका लागि पनि सो अनुसारको वजेट विनियोजन गर्नुपर्छ । खेलकुदका लागि स्थानीय तहमै आवश्यक कोष निर्माण गर्न पनि सकिन्छ । खेलकुदलाई जसरी प्राथमिकतामा राख्नुपर्ने हो त्यो भएको छैन । खेलकुदमा पर्याप्त वजेट छुट्टयाइएको पाइँदैन । बजेट छुट्ट्याई हाले पनि त्यसको कार्यान्वयनमै समस्या निम्त्याइन्छ र वजेट फ्रिज हुन्छ ।
सर्वप्रथम जनप्रतिनिधि र कर्मचारीले खेलकुदप्रतिको सोच बदल्न आवश्यक छ । खेलकुद पनि उत्पादक क्षेत्र नै हो । खेलकुदमा छुट्टयाइएको बजेट पनि लगानी नै हो भनेर बुझ्न आवश्यक छ । सरकार स्पष्ट भएपछि मात्र ती कामका लागि कति बजेट छुट्याउने भन्ने विषय आउँछ । स्थानीय सरकारले राम्रो नीति र बजेटको व्यवस्था गर्ने हो भने खेलकुदले गति लिन्छ । खेल पूर्वाधार, खेल प्रशिक्षण र प्रतियोगिता आदिका लागि कोष स्थापना गर्न जरुरी छ । कोषका लागि सवै क्षेत्रको सहयोग पनि लिन सक्नुपर्छ । चुनौति हुँदाहुँदै पनि नरैनापुरमा थुप्रै सम्भावना पनि छन् । चुनौतिलाई अवसरमा बदलेर अगाडि बढ्ने पर्यत्नमा लाग्नुपर्छ ।
प्रशिक्षण र प्रतियोगिता
खेलकुदमा प्रशिक्षण र प्रतियोगिता कत्तिको महत्वपूणर् छ भन्ने कुरा भनिरहनुपर्ने विषय हैन । प्रशिक्षण बिना खेलकुदको समग्र विकास सम्भव छैन । सफल खेलाडीका लागि पर्याप्त प्रशिक्षण र प्रतियोगिता अनिवार्य जस्तै हो तर नरैनापुरमा न प्रशिक्षक छन्, न प्रतियोगिता अनि सफल खेलाडी कहाँबाट पाउनु । त्यसैले सवैभन्दा पहिले स्थानीय तहमै प्रशिक्षक र प्रशिक्षणको खाँचो छ । त्यसका लागि खेल सम्वद्ध निकायले पनि ध्यान दिन जरुरी छ । प्रशिक्षक पनि अधिकांश शहरमुखी, सुविधामुखी भइदिँदा ग्रामिण तहमा कुनै पनि खेलको प्रशिक्षण हुन पाउँदैन ।
प्रशिक्षकमध्ये अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा केन्द्रित हुँदा ग्रासरुटबाट खेलाडी उत्पादनको प्रयास भएको पाइँदैन । यसले खेलको विकासमा नै परोक्ष असर पार्ने गर्दछ । प्रशिक्षकलाई गाउँ जाने बातावरण बनाइनुपर्छ । स्थानीय स्रोत जुटाएर पनि प्रतियोगिता गर्न सकिन्छ । तर त्यसो भएको पाइँदैन । त्यसका लागि स्थानीय उद्योगी, व्यवसायी, शुभेच्छुक दाताहरुले पनि सहकार्य गर्नुपर्छ । प्रतियोगितालाई केन्द्रित गरेर विशेष तालिमहरू दिइनुपर्छ ।
खास समुदाय, खास भूगोलमा गएर रिसर्च गरेर नयाँ प्रतिभा खोज्ने पहल गरिएकै छैन । प्रतिभाको खोजीका लागि गाउँगाउँमा प्रतियोगिताहरु गर्न आवश्यक छ । नयाँ प्रतिभाको खोजी गर्न सक्नुपर्छ । नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने बातावरण बनाइनुपर्छ । खेलका फाइदाबारे अभिभावकलाई पनि जानकारी दिइनुपर्ने हुनसक्छ । खेलाडीलाई पुरस्कार दिने व्यवस्था गराइनुपर्छ । सफल खेलाडीलाई मासिक भत्ताको व्यवस्था पनि मिलाइनुपर्छ ।
नरैनापुर गाउँपालिकाले खेल गतिविधिलाई प्राथमिकता राख्न खोजे पनि पछिल्लो चरण कोरोना संक्रमणले धेरै कार्यक्रमहरु प्रभावित भए । बजेट जति त्यसतर्फ केन्द्रित भयो । स्थानीय सरकारसँगै राजनीतिक दल, नागरिक समाज खेलकुदमैत्री हुन आवश्यक छ । खेलकुदको सम्भावना राम्रो छ । खेलकुद एकताको विषय हो, सदभाव, सम्मान, गौरव बढाउने विषय हो । खेलकुद स्वस्थ र अनुशासित नागरिक तयार पार्ने सवाल पनि हो भन्ने सबैले नबुझ्दासम्म खेलकुदको समान विकास सम्भव छैन । सौरभ गिरी/समृद्धिको यात्रामा नरैनापुर बुलेटिनबाट
।