काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ का सरकारले निजामती कर्मचारीको तलव बढाउने निर्णय गरेको छ । कोरोना महामारीका बीच कर्मचारीको मनोबल बढाउन उक्त निर्णय लिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
त्यस्तै कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई कायमै राखिएको छ । साथै तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न पे कमिसन गठन गर्ने समेत मन्त्री पौडेलले बताए ।
त्यस्तै सरकारी कर्मचारीको १० लाखसम्मको सामूहिक दुर्घटना बिमा र एक लाखसम्मको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ ।
मन्त्री पौडेलले सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गर्नेसमेत बताएका छन् ।
यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो ।
समयानुकुल तलव भत्तामा समायोजन गर्दै जानुपर्ने भन्दै कर्मचारी युनियनले सरकारलाई दवाव दिइरहेका थिए ।
।