सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा बारीमै थन्कियो तरकारी

सल्यान । कोरोना महामारीबाट बच्न लगाइएको निषेधाज्ञाले किसानले उत्पादन गरेको तरकारी बारीमै थन्किएको छ । बिक्री गर्न तयारी अवस्थामा रहेको तरकारी लैजान व्यापारी नआएपछि किसान चिन्तित भएका छन् । शारदा नगरपालिका-६, बरलाका किसान लोकबहादुर भण्डारीले १४ रोपनीमा लगाएको तरकारी बिक्री नहुँदा काटेर फाल्नुपर्ने अवस्था आएको बताए ।

उनका अनुसार बजारसम्म तरकारी पुर्याउन र पुर्याएको तरकारी पनि बिक्री नभएपछि बारीमै सड्न थालेको छ । ‘बजार सबै बन्द छ, को आएर हाम्रो तरकारी किनिदिने हो र ? किन्ने मान्छे नै आउँदैनन्,’ उनले गुनासो गरे । गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पुर्याएको छ ।

बरलाकै विमला बुढाथोकीले बजार सबै बन्द भएकाले तरकारी किन्ने कोही नभएको बताइन् । उनका अनुसार बारीमा बिक्रीयोग्य मूला, काँक्रो, फर्सी, सिमी, बन्दा, करेलालगायतका तरकारी त्यत्तिकै थन्किएको छ । किसानले मेहनतअनुसार लगानी नउठ्ने चिन्ता रहेको बताएका छन् । यहाँका १५ जना किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । प्रदीप वलीले पाँच रोपनी बारीमा लगाएको तरकारी कुहिन लागेको दुःख पोखे ।

उनले गत वर्ष बन्दाबन्दी भए पनि पाँच लाख कमाइ भएको स्मरण गर्दै यो वर्ष भने एक-दुई लाख हुन्छ कि हँुदैन भन्ने चिन्ताले सताउन थालेको बताए । किसानले निषेधाज्ञा नहुँदै टिप्ने बेला नभएको र टिप्ने समयमा तरकारी बजार पठाउन सकेका छैनन् । अबको एक हप्ताभित्र तयार भएको तरकारी बजार पठाउन नसकिए काटेर फाल्नुपर्ने देखिएको छ । यस क्षेत्रका किसानले तरकारी बिक्री गरेररै वार्षिक ३५ लाख बढी कमाइ गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार ०७:५३