बाँके । नेपालगन्जस्थित वेस्टर्न हस्पिटलले एक महिनाको अवधिमा विभिन्न रोगका २० जना कोभिड सङ्क्रमित बिरामीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले अर्थोपेडिक र ट्रमासम्बन्धी १४ वटा, जनरल सर्जरीका चारवटा र प्रसूति तथा स्त्रीरोगसँग सम्बन्धित दुईवटा गरी २० जना सङ्क्रमित बिरामीको सफल शल्यक्रियासहितको उपचार सेवा प्रदान गरेको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डा.राहुल थापाले एक महिनामा जटिल किसिमका सङ्क्रमित २० जनाको शल्यक्रिया गर्ने लुम्बिनी प्रदेशको पहिलो अस्पताल भएको दाबी गरे । डा.थापाका अनुसार दोस्रो लहरको कोभिड-१९ को महामारी फैलिँदै गएपछि अस्पतालले गएको वैशाख पहिलो सातादेखि चार शैय्याको कोभिड वार्ड सञ्चालन गरी बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको थियो ।
त्यसपछि सङ्क्रमितको सङ्ख्या झन् बढ्दै गएपछि शैय्याको सङ्ख्या थप गरेर १६ पुर्याइएको छ । विगत १५ वर्षदेखि नेपालगन्जमा सञ्चालन हँुदै आएको यो अस्पतालमा अर्थोपेडिक, ट्रमा, जनरल सर्जरी, प्रसूति र स्त्री रोगसम्बन्धी उपचार सेवा उपलब्ध गराउन ५० शैय्याको क्षमता रहेको छ ।
।