सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालका डाक्टर र नर्स आन्दोलित

काठमाडौं । भेरी अस्पतालमा डाक्टर र नर्समाथि भएको हातपातको विरोधमा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। अस्पतालमा बिहानैदेखि डाक्टर र नर्सले नाराबाजी गरेका छन्।

‘अस्पतालमा राजनीति चल्दैन, हामीलाई न्याय चाहियो, दोषीलाई कारबाही गर, दोषीलाई लुकाउन पाइँदैन, मुख्यमन्त्रीको आडमा स्वास्थ्यकर्मीलाई कुट्न पाइँदैन, ज्यान मार्ने मुद्दा हाल्नै पर्छ’ जस्ता नारा लगाइएको छ।

दश दिनदेखि भेरी अस्पतालमा उपचारमा रहेका दाङका डिल्ली रावतको गएराति मृत्यु भएपछि उनका आफन्त मानबहादुर रावत, भरतबहादुर र लोकराजले डिउटीमा रहेका डाक्टर र नर्सलाई हातपात गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

डिउटीमा रहेका डाक्टर चन्द्रप्रकाश साहु र आश्विनी गुरुङले बिरामीको मृत्यु भएपछि आफन्तहरुले आफूहरु पाँच जनालाई लखेटीलखेटी हातपात गरेको बताए।

‘बिरामीको अवस्था केही दिनदेखि नै गम्भीर थियो। एक दिनअघि उनीहरुले नै भेन्टिलेटरमा राखिदिनु पर्‍यो भनेका थिए। त्यो दिन खाली थिएन। हिजो भेन्टिलेटर खाली भएपछि हामीले भेन्टिलेटरमा राखिदियौँ। त्यसको केहीबेरमा बिरामीको मृत्यु भयो’, डा. साहुले भने, ‘त्यसपछि नर्सलाई घाटी अठ्याइयो। हामीलाई लखेटी लेखटी हातपात गरियो।’

उनका अनुसार, डाक्टर र नर्सहरु भागेर एउटा कोठामा पुगे। त्यहाँको पनि ढोका फोडिएपछि शौचालयमा लुके। त्यसपछि झ्यालबाट हाम फालेर तल भागे। डाक्टर साहु, नर्सहरु आश्विनी, सदिक्षा गैरे, रिता अधिकारी र कविता पुन डिउटीमा रहेका थिए।

पाँचै जना झ्यालबाट हाम फालेर भागेका थिए। डिउटीमा रहेकालाई हातपात भएपछि राती नै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु अस्पतालमा पुगेका थिए। लगत्तै हातपात गर्ने तीन जनालाई समातेर जिप्रका लगिएको थियो।

अस्पतालमा पटक पटक यस्ता घटना भइरहेको भन्दै डाक्टर र नर्सले आन्दोलन थालेका छन्। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन्।

दोषीलाई कडा कारबाही हुने आश्वासन दिएका छन्। डाक्टर र नर्सहरुले दोषीलाई कारबाही र अस्पतालमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग अघि सारेका छन्।

अस्पतालमा डेढ सय बढी बिरामी उपचारमा रहेका छन्। डाक्टर र नर्स नै आन्दोलनमा उत्रिँदा बिरामीलाई असर परेको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार १४:५८