काठमाडौं । भेरी अस्पताल नेपालगञ्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने मानबहादुर रावतले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ ।
बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका चिकित्सक र नर्समाथी साँघातिक आक्रमण गराएका दाङका रावतको विगत देखि नै विवादास्पद देखिएको छ ।
दाङ निर्वाचन क्षेत्र नं. ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत रहेका रावत मुख्यमन्त्री पोखरेलका विश्वासिला पात्र मानिन्छन् । रावत यसअघि सरकारी कर्मचारी थिए । छ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए ।
पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए । अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।
ती महिलाका आफन्तले रावतलाई कुटपिट समेत गरेका थिए । त्यसपछि रावतमाथि जवर्जस्ती करणी अरोपमा लामो समय मुद्दा चलेको थियो । पछि उनलाई अदालतले सफाइ पनि दियो ।
स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए । त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारीहरूलाई पनि अभद्र व्यवहार गरेपछि उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन समेत दिएका थिए ।
त्यसपछि तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए । तर पनि उनीविरुद्ध दबाव बढ्न थालेपछि पाण्डेले पनि उनलाई हटाएका थिए । त्यसपछि उनी पार्टीमै सक्रिय रहँदै आएका थिए ।
बिहिबार राती तिनै रावतले नेपालगञ्जस्थित भेरी अस्पतालमा आतंक मच्चाएका छन । कोरोना संक्रमणबाट थलिएका आफ्ना दाई डिल्लीबहादुर रावतको उपचारका क्रममा निधन भएपछि रावतले अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी साँघातिक हमला गराएको आरोप लागेको छ ।
आक्रमणबाट भेरी अस्पतालमा कार्यरत डा. चन्द्र प्रकाश साहु, नर्सहरु सदिक्षा गैरे, आश्विनी गुरुङ, रिता अधिकारी र कबिता पुन घाईते भएका थिए । त्यसैगरी अस्पतालको शैचालय, झ्यालको सिसा, ढोका र कोभिड वार्डमा समेत तोडफोड गरीएको थियो ।
प्रहरीले घटनामा संलग्न भएको भन्दै रावतसहित तिन जनालाई नियन्त्रणमा लिएर राखेको छ । यद्यपी राजनितिक पहुँचका आधारमा छुट्न सक्ने भन्दै बाँकेमा सक्रिय १५ ओटा स्वास्थ्यसँग सम्बन्धित संघ संगठनहरुले दोषिलाई कडा कारबाहीको माग राख्दै आएका छन ।
।