सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भेरी अस्पतालमा संक्रमितको मृत्यु भएपछि आफन्तद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण

कडा भन्दा कडा कारबाही हुनुपर्ने माग

बाँके ।  भेन्टिलेटरमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएपछि उनका आफन्तहरुले बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण गरेको छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाका अनुसार विहीबार राति दाङका ५४ वर्षीय संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

उनका अनुसार ४ जना स्वास्थ्यकर्मीले भने झ्यालबाट हामफालेर ज्यान बचाएका थिए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटिलखेटी आक्रमण गरेको थापाको भनाइ छ ।

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा. थापाको भनाइ छ । थापाले भने, ‘‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् ।

सबैको अवस्था क्रिटिकल छ,’ उनले भने, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण छैन ।”

चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ०८:०२