काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताउनुभएको हो ।
सरकारले संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका निर्णय लिइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले सरकारी संयन्त्रको दुरुपयोग नगर्न चेतावनी दिँदै सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकाले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न भन्नुभएको छ ।
सरकारकै अकर्मण्यता र उदासीनताका कारण कोरोना सङ्क्रमण बढेको र सङ्क्रमण रोक्न फेरि पनि सरकारले निषेधाज्ञाको साहारा लिएको देउवाको भनाइ छ ।
उहाँले कोरोना सङ्क्रमणलाई सरकार सत्ता सुरक्षाको कवच र जनअधिकार कुण्ठित गर्ने हतियारको रूपमा प्रयोग भइरहेको आरोप पनि लगाउनुभएको छ ।
यस्तै विज्ञप्तिमार्फत देउवाले प्रधानमन्त्रीलाई पेस गरेको १५ बुँदे ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन पनि माग गर्नुभएकाे छ । साथै उहाँले कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आईसीयू बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गर्नुभएकाे छ ।
।