सूचनाको शक्ति - The Power Of Information

        

युरोपा लिगको उपाधि भिल्लारियललाई

एजेन्सी । स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ ।

९४ वर्षको क्लबले इतिहासमा पहिलो पटक सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११–१० ले पराजित गर्दै भिल्लारियल क्लब उपाधि जित्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टोलीले सुरुवाती १०–१० प्रहार गोल गरेपछि गोलरक्षकहरुले सडन डेथमा प्रहार गर्नुपरेको थियो ।

एघारौं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले आफैं गोल गरेर त्यसपछि युनाइटेडका डेविड डे हेयाको प्रहार बचाएपछि भिल्लारियल च्याम्पियन बनेको हो ।

त्यसअघि खेलको २९ औं मिनेटमा भिल्लारियलले जेरार्ड मोरेनोको गोलमा अग्रता लिएको थियो । ड्यानी परेहोको फ्रिकिकलाई मोरेनोलाई सदुपयोग गर्दै मोरेनोले गोलरक्षक डेविड डे हेयालाई बिट गर्दै गोल गरेका थिए ।

युनाइटेडले दोस्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल फर्कायो । एडिन्सन काभानीले कर्नरको रिबाउन्डमा क्लियर हुन नसकेको बललाई गोलमा परिणत गरेका थिए ।

निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीले ३० मिनेटको अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार ०९:१८