सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि

काठमाडौं ।  काठमाण्डौमा फेरि बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको छ ।

काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको हो । बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नस्ट गर्न बिहानैदेखि टोली खटाइएको पशु सेवा विभागले जनाएको छ ।

अस्वाभाविक रूपमा टर्की मर्न थालेको सूचना पाएलगत्तै नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा आरटी पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।

अहिले सङ्क्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको र प्रभावित क्षेत्रका पक्षी नष्ट गर्ने टोली बिहानैदेखि परिचालित भएको विभागका प्रवक्ता ढकालले बताउनुभयो ।

व्यावसायिक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्ड फ्लु पुष्टि भएको हो । पक्षी नष्ट र निःसङ्क्रमण विधि सकिएपछि बेलुकासम्ममा विवरण सार्वजनिक गर्ने तयारी भइरहेको पनि विभागले जनाएको छ ।

यसअघि काठमाण्डाै तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा पनि केही महिनाअघि लोकल कुखुरा, लेयर्स र टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार १९:५१