सूचनाको शक्ति - The Power Of Information

        

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० भेडाबाख्रा मरे

हुम्ला । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट-८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट-८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् ।

वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए । बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको उनले बताए । उपचारका लागि सम्बन्धित निकायलाई सहयोग गरिदिन उनको आग्रह छ । दशकौंपछि एक्कासी जेठमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ । जिल्लामा एउटा भेडाको मूल्य रु १० हजारसम्म पर्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार ०७:३५