बाँके । नेपालगन्जस्थित भेरी अस्पतालका ल्याब प्रमुख प्रसन्न मिश्रको एक वर्षदेखिकै दैनिकी हरेक दिन सबेरै उठेर अस्पताल गएर पिपिई लगाएर १४ घन्टाभन्दा बढी समयसम्म ल्याबमा बसेर कोरोना संक्रमण हो, होइन भने परीक्षण गर्न ल्याइएका स्वाबसँग खेल्नु । गत वर्षको बैशाखदेखि उनको समय घरमा भन्दा धेरै अस्पतालको ल्यावमा स्वाबसंँग खेलेर बितेको छ ।
उनकै नेतृत्वमा भेरी अस्पतालको ल्याबबाट हालसम्म ६६ हजार ४५४ जनाको स्वाब परीक्षण भएको छ । कोरोनाको पहिलो लहरको सुरुवाती समयमा कोरोना संक्रमितको स्वाब परीक्षण गरेर आएको भन्दा घरपरिवार र छिमेकी नै उनीसंँग डराउने गर्दथ्ये । ‘सुरुसुरुमा कोरोना संक्रमितको स्वाब परीक्षण गरेर आएको भन्दा घरपरिवार नै डराउने अवस्था थियो, कतै आफूले परिवारलाई असुरक्षित गराएको छु कि भन्ने लाग्थो तर अहिले त्यस्तो छैन ।’
अहिले नेपालगन्ज कोरोनाको हटस्पट नै बनेको छ । जसले गर्दा स्वाब परीक्षणको लागि आउने स्वाबहरु धेरै हुन्छ । यस्तो बेला उनको टिमले दैनिक १४ घन्टा सम्म बन्द कोठामा बसेर काम गरेको गर्नु परेको छ ।‘हामी ल्याबमा काम गर्ने जम्मा १२ जना छौँ स्वाबहरु धेरै आउछ जसले गर्दा लामो समय सम्म काम गर्नुपर्छ‘ उनले भने ।
आफै संक्रमित हुँदा पनि काममै
एक वर्षसम्म कोरोना पत्ता लगाउन ल्यावमा बसेर स्वाबसँग खेलिरहेका मिश्र आफैं संक्रमित बनेका छन् । यस्तो बेला पनि उनले ल्याबलाई नै आइसोलेसन बनाएर काम गरिरहेका छन् । सामान्य लक्षण देखिएपछि पिसिआर गरेका उनमा संक्रमण पुष्टि भएको छ । संक्रमित अवस्थामा पनि उनले काम भने छोडेका छैनन् । यस्तो बेला संक्रमित हुँदा उनलाई परिवारले घरमै बस्न आग्रह नगरेको हैन तर, उनी सुरक्षित भएर काम गर्छु भनेर सेवामै खटिएका छन् ।
‘अहिले स्वाबहरु धेरै आउँछ, प्रयोगशालामा हामी थोरै छौँ, जसले गर्दा आराम गर्छु भन्न मन लागेन, तीन दिनअघि परीक्षण गर्दा संक्रमण देखियो, सामान्य लक्षण देखिएको छ त्यसले गर्दा ल्यावमा छुट्टै बसेर काम गर्छु ।’ अहिले आफू संक्रमित हुँदा मात्रै हैन यो एक वर्षमा उनको घरमा भन्दा धेरै प्रयोगशालाको ल्याबमा समय बितेको छ ।
नेपालगन्जको हालको चर्को गर्मीमा शरीर पुरै ढाक्ने गरी पिपिई लगाएर लामो समय काम गर्न सजिलो नहुने भए पनि बिरामीहरुको अवस्था देख्दा गर्मीलाई भुल्ने गरेको उनले बताए । उनले भने, ‘अहिले दैनिक ५०० भन्दा बढी स्वाब आउँछ, कडा लक्षण भएपछि परीक्षण गर्न आउने धेरै छन्, यस्तो बेला चाँडै परीक्षण गरिदिन पाए उनीहरुलाई सजिलो हुन्थ्यो भन्ने लाग्छ । जसले गर्दा चर्को गर्मीमा सकेसम्म आफ्नो पीडा भुलेर काम गर्न मन लाग्छ ।’
एक वर्षमा उनी आफू मात्रै खटिएनन् आफ्नो टिमका साथीहरुको समेत सारथी बने । काम गर्दै जाँदा उनीसँगै खटिएका साथीहरु संक्रमित भए । यस्तो बेला उनीहरुको आत्मबल बढाउँदै दैनिकरुपमा कामलाई निरन्तरता दिए । यस अवधिमा काम गर्दा उनीसँग एउटा तितो अनुभव छ, ‘सरकारले ल्याबमा काम गर्नेहरुलाई अझैं पनि फ्रन्टलाइनमा खटिने चिकित्सक नर्सहरुलाई जस्तो प्राथमिकता नदिएको ।’
उनले भने, ‘हाम्रो कामको प्रकृतिले पनि हामी लामो समयसम्म बन्द कोठामै बसेर काम गर्नुपर्ने हुन्छ, डाक्टर नर्सजस्तो हामी बिरामीसँग सम्पर्कमा आइँदैन, जसले गर्दा सबै क्षेत्रबाट हामी ल्यावमा काम गर्नेहरु पछाडि राखेको महशुस हुन्छ । लामो समय लगातार काम गर्दा मानसिक र शारीरिक थकान नि ज्यादै हुन्छ ।’
।