काठमाडौं । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा भएसँगै नयाँ शक्ति पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने धारणा सार्वजनिक गरेको छ । आज शनिबार पार्टीका संयोजक रविकिरण हमालद्वारा जारी प्रेस वक्तव्यमा संविधान पुनःलेखनको मागसमेत गरिएको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा नेपालको लोकतान्त्रिक राज्यव्यवस्थालाई समाप्त पार्ने खेल भएको भन्दै उसले निर्वाचनको विरोध पनि जनाएको छ । प्रतिनिधिसभा विघटन हुनुमा संससदमा प्रतिनिधित्व गर्ने सबै दलहरू जिम्मेवार रहेको नयाँ शक्ति पार्टीको ठहर रहेको संयोजक हमालले वक्तव्यमार्फत बताएका छन् ।
‘मुख्य राजनीतिक नेतृत्वको अदुरदर्शीताका कारण प्रतिनिधिसभाको विघटन हुन पुगेको हो,’ वक्तव्यमा भनिएको छ । नयाँ शक्तिले संविधानलाई पुनः लेखन गर्न सर्वदलीय संयन्त्र निर्माण गरेर मुख्यतः शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूणर् समानुपातिक संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली लोकपल गठन र प्रदेश शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली समावेश गर्न आग्रह गरेको छ ।
।