सूचनाको शक्ति - The Power Of Information

        

समयमै एम्बुलेन्स नआउँदा बिरामीको मृत्यु

सल्यान । समयमै एम्बुलेन्स नआउँदा सल्यानका एक बिरामीको मृत्यु भएको छ । बनगाड कुपिन्डे नगरपालिका-७, का भोलाबहादुर बुढाको शुक्रबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बिहीबार राति ११ बजे नगरपालिकाको आइसोलेसन पुर्याइएको थियो ।

तर स्वास्थ्यकर्मीले त्यहाँ बिरामीको उपचार असम्भव रहको भन्दै जिल्ला अस्पताल वा प्रदेश अस्पताल सुर्खेत लैजान भनेका थिए । त्यसलगतै एम्बुलेन्स बोलाइए पनि समयमै एम्बुलेन्स नआउँदा उनलाई उपचार गर्न अन्यत्र लैजान नसकेपछि उनको आज बिहान मृत्यु भएको मृतककी बहिनी भुमा वलीले बताइन् ।

उनका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बुढाको पीसीआर परीक्षणका लागि स्वाब सुर्खेत पठाइएको छ । नगरपालिकाले समयमै एम्बुलेन्स उपलब्ध नगराउँदा बिरामीले अकालमा ज्यान गुमाउनुपरेको मृतकका आफन्तको आरोप छ । ‘दाइलाई अस्पताल लिन एम्बुलेन्स खोज्यौंं, तर एम्बुलेन्स चालकले स्वास्थ्य शाखाको अनुमति विना बिरामी नबोक्ने भने, एम्बुलेन्स कुर्दाकुर्दै दाईको मृत्यु भयो,’ बहिनी भुमा वलीले भनिन् ।

आफन्तले बिहीबार राति नै एम्बुलेन्स चालक दलबहादुर पुन र स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलको घरमा पुगेर बिरामीलाई अस्पताल पुर्याउने वातावरण मिलाइदिन आग्रह गरेका थिए । तर संयोजक पोख्रेलका परिवारले भने उनी घरमा नभएको भन्दै आफन्तलाई फर्काइदिए । बिरामीको मृत्युपछि आफन्तले पोख्रेलमाथि कारबाहीको माग गर्दै नगरपालिकामा नाराबाजी गरेका थिए ।

स्वास्थ्य संयोजक पोख्रेलले एक विज्ञप्ति निकाल्दै आफ्नो गल्तीका कारण बिरामीको मृत्यु भएको स्वीकारेका छन् । ‘मृतकका सदस्यबाट बिहीबार राति पटक-पटक फोन आएको थियो, मैले फोन उठाएको थिइनँ, घरमै आएर बोलाउँदा पनि जवाफदेही नभएको हुँदा मेरो गैरजिम्मेवारपूणर् व्यवहारका कारण भोलाबहादुर बुढाको मृत्यु भएकोप्रति ध्यानाकर्षण भएको छ । मेरो यस्तो व्यवहारप्रति क्षमायाचना चाहन्छु’, पोख्रेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ । उनले विज्ञप्तिमार्फत आगामी दिनमा यस्तो गल्ती पुनः नदोहोरिनेसमेत प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार ०७:३५