सूचनाको शक्ति - The Power Of Information

        

सरकार गठन गर्न ओलीले १५३ र देउवाले १४९ सांसदको हस्ताक्षर बुझाए

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा  संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको दाबि पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सांसदको समर्थन आफुलाई भएको भन्दै सरकार गठनको दाबि पेश गरेका हुन् ।

जसपाका ३२ सांसदको समर्थन पत्रमा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता भनेर राजेन्द्र महतोको हस्ताक्षर भएको पत्र बुझाइएको बताइएको छ ।

प्रधानमन्त्री ओली, विपक्षी दलहरुभन्दा अगाडी शीतल निवास पुगेर सरकार गठनको दाबि पेश गरेका हुन् । प्रधानमन्त्री ओली सरकार गठनको दाबि पेश गरेर शीतल निवासबाट बाहिरिएका छन् ।

यता काँग्रेस सभापति शेरबहादुर देउवापनि १४९ सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गर्न शीतल निवासमै रहेका छन् ।

देउवाले काँग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाका १२, एमालेको नेपाल पक्षका २७ र जनमोर्चाका एक सांसदको हस्ताक्षर रहेको दाबि पेश गर्न लागेका हुन् ।

राष्ट्रपतिले दिएको संबिधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गर्ने समय अहिले ५ बजे सकिदै छ ।

एमाले र जसपाका सांसदको हस्तक्षार दुरुपयोग भएको स्पष्ट भएपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले कसरी निर्णय लिन्छिन् भन्ने चासो बढेको छ

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १७:२७