सूचनाको शक्ति - The Power Of Information

        

होम आइसोलेसनमै ज्यान गुमाउँदै सल्यानका संक्रमित

सल्यान । होम आइसोलेसनमा बस्दै आइरहेका कपुरकोट गाउँपालिकाका दुई पुरुषको बिहीबार मृत्यु भयो । अस्पतालमा ठाउँ नभएपछि होम आइसोलेसनमा बस्दै आएका छत्रेश्वरी गाउँपालिकाका एक संक्रमित पुरुषको पनि उपचार नै नपाएर मृत्यु भयो । होम आइसोलेसनमा मृत्यु भएकाको यो त प्रतिनिधिमूलक उदाहरण मात्र हो । सल्यानमा यसरी नै ज्यान गुमाउनेको संख्या प्रतिदिन बढिरहेको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा सल्यान अस्पताल बिरामीले खचाखच भरिएका छन् । अस्पतालमा ठाउँ अभाव हुँदा अधिकांश संक्रमित आफ्नै घरमा बस्दै आइरहेका छन् । होम आइसोलेसनमा बस्दै आइरहेकाले समयमै उपचार नपाउँदा ज्यान नै गुमाउनुपर्ने बाध्यता छ । होम आइसोलेसनमा चिकित्सकीय उपचार तथा परामर्श नहुँदा नागरिकले अकालमा आफ्नो ज्यान गुमाइरहेका छन् ।

कोरोनका महामारीले गर्दा सबैलाई अस्पतालमा भर्ना गर्न सक्ने अवस्था नरहेको सल्यान अस्पताल सल्यानका डा.भीमकान्त जैसीको भनाइ छ । संक्रमित बढ्दै जाँदा अक्सिजनको अभाव भएको र अस्पतालमा बेडसमेत नहुँदा संक्रमितलाई घरमै बस्न आग्रह गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । अक्सिजनको मात्रा एकदमै घटेकालाई मात्र अस्पतालमा राख्ने गरेको उनले बताए ।

होम आइसोलेसनमा बस्दै आइरहेका संक्रमितलाई स्थानीय तहमा रहेका स्वास्थ्यकर्मी परिचालन गरेर स्थिति बुझ्ने काम भइरहेको पनि उनले बताए । अक्सिजन आवश्यक पर्नेबाहेक अन्यलाई होम आइसोलेसनमा बस्ने सरकारको नीति भएकै कारण धेरै संक्रमित घरमै रहेका दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी पनि बताउँछन् । सल्यानमा हालसम्म १ हजार ८७५ जना कोरोना संक्रमित छन् ।

जसमा १ हजार २२८ डिस्चार्ज भइसकेका छन् । हाल ६०४ सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा ५५० जना छन् । सल्यान अस्पतालको आइसोलेसनमा २२ र संस्थागत आइसोलेसनमा ३२ जनाको मात्र उपचार भइरहेको छ । जिल्लामा ३२ जनाको मृत्यु हुँदा होम आइसोलेसनमा रहेका ९ जनाले ज्यान गुमाएका जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । जबकि संस्थागत आइसोलेसनमा तीन जनाले मात्रै ज्यान गुमाएका छन् ।

सामान्य अवस्था हुँदा घरै बस्न सुझाव दिने तर निगरानी नराख्नाले जोखिम बढेको छ । नियमित औषधि उपचार अभावमा होम आइसोलेसनका संक्रमितको ज्यान जोखिममा पर्दै गएको हो । जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रदेखि टाढाका बस्तीमा चिकित्सक र स्वास्थ्यकर्मी पनि पुग्न नसक्ने अवस्था छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १६:०२