सूचनाको शक्ति - The Power Of Information

        

आपत्कालिन छलफलमा विपक्षी दल, माधव पक्ष पनि आन्तरिक परामर्शमा

काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उपधारा नै ‘जम्प’ गरेर नयाँ सरकार गठनका लागि सुरु गरेको प्रक्रियालाई विपक्षी दलहरुले असंवैधानिक भन्दै चर्को विरोध गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको यो कदमपछि विपक्षी दलहरु भावी रणनीति बनाउन आपत्कालिन छलफलमा जुटेका छन् । काँग्रेसले सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पुर्व पदाधिकारीहरूको बैठक बोलाएको छ भने माओवादीले पनि बैठक बोलाउने तयारी गरेको छ ।

काँग्रेसको बैठक सकिएलगत्तै पार्टीको छुट्टै र काँग्रेससँग संयुक्त छलफल गर्ने तयारी माओवादीले गरेको छ । बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधानमाथि फेरि अर्को प्रहार भएकाले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन अधिकतम प्रयास गर्ने  विपक्षी दलहरूको भनाइ छ ।

‘के गर्ने ? कसरी अघि बढ्ने भनेर आन्तरिक छलफल भइरहेको छ । आन्तरिक छलफल पछि  के गर्ने भन्ने टुंगो लाग्छ’, माओवादीका स्थायी समिति सदस्य लीलामणि पोखरेलको भनाई छ ।

माधव पक्ष पनि आन्तरिक परामर्शमा 

विकसित घटनाक्रमबारे नेकपा एमालेकै माधव नेपाल पक्ष पनि आन्तरिक परामर्शमा जुटेको छ ।

यसअघिको प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम, अध्यादेश लगायतलाई असंवैधानिक भन्दै विरोध गरेको माधव नेपाल पक्ष अहिले प्रधानमन्त्रीले अर्को त्यस्तै कदम चाल्दा मौन बसेको त होइन भन्ने प्रश्न उब्जिएका बेला सो पक्ष पनि आन्तरिक परामर्शमा जुटेको हो ।

वैधानिक हिसावले माधव नेपाल पक्षले फ्रन्टमा बोलेर अहिलेको संकटमोचन नहुने भएकाले नेताहरु मौन बसेको माधव नेपालनिकट एक नेताको भनाइ छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ११:०३