सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान, दलहरुलाई २१ घण्टाको समय

राष्ट्रपतिको कदम असंवैधानिक रहेको भन्दै काँग्रेसद्वारा प्रधानमन्त्री पदमुक्त नभई नयाँ सरकार गठनको आह्वानप्रति आपत्ति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ । राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएकी छन् । पत्रानुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक परिस्थितिमा सरकारलाई विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय थियो ।

राष्ट्रपति कार्यालयबाट जारी सूचनामा सविधानको धारा ७६ (३) बमोजिम बनेको सरकारले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने ब्यवस्था रहेकोमा विकिसित राजनीतिक परिस्थितीमा मौजुदा सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएकाले मुलुकलाई अन्यौलमा राख्न उचित नदेखिएको हुँदा वैकल्पिक सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने मन्त्रीपरिषादको निर्णय अनुसार प्रधानमन्त्रीबाट अनुरोध भइआएकोले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरिएको उल्लेख गरिएको छ ।

राष्ट्रपति कार्यालयको पत्र ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको काँग्रेसले जनाएको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत हो । आपत्तिजनक र असंवैधानिक छ ।’ नयाँ सरकार गठनका लागि दिइएको २१ घण्टाको समय अवधी तोकिनु आश्चर्यको विषय भएको उनले बताए । यसबारे शुक्रबार बिहान पार्टीका शीर्षस्थ नेताबीच छलफल गरेर रणनीति बनाउने उनले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार २१:०३