सूचनाको शक्ति - The Power Of Information

        

फस्टाउँदै कृषिकर्म

‘बाख्रापालन’मा अभ्यस्त बन्दै राप्तीसोनारीका महिला

घरधन्दासँगै बाख्रापालनले आम्दानी पनि हुन थालेपछि घरखर्च धान्न सहज भएको राप्तीसोनारीका महिलाहरुको अनुभव छ ।

बाँके । देशमा रोजगारी नपाएर लाखौँ युवा विदेशिएका छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै विदेशिनेको संख्या बाक्लै छ । अझ युवापुस्ता देशमा केही गर्न नसकिने भन्दै वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । आफ्नो स्वास्थ्यको प्रवाह नगरी विदेशी भूमिमा पसिना बगाइरहेका छन् । तर, स्वदेशमा नै बसेर गरे के हुँदैन र ? विदेशीने युवालाई राप्तीसोनारी गाउँपालिकाका महिलाले भने आफ्नै गाउँमा राम्रो आम्दानी गर्न सकिन्छ भनेर गतिलो उदाहरण दिएका छन् ।

राप्तीसोनारीका महिलाहरु उन्नत जातका बाख्रापालन गरेर राम्रो आम्दानी लिन सफल भएका छन् । बाख्रापालनमा थोरै लगानी गरेर राम्रो आम्दानी हुने भएपछि विपन्न महिलाहरु समेत व्यावसायीक बन्न थालेका छन् । यहाँका महिलाहरुले व्यवसायिक बाख्रापालनमार्फत स्वदेशमै रोजगारी पाइन्छ भनेर मात्र देखाएका छैनन् लोभलाग्दो आम्दानीसमेत गरिरहेका छन् । पछिल्लो समय राप्तीसोनारीमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । अन्य व्यवसायभन्दा सजिलो र चाँडै राम्रो आम्दानी पनि दिने हुँदा बाख्रापालन व्यवसाय महिलाहरुको आकर्षणमा परेको छ ।

राप्तीसोनारीका अधिकांश महिलाहरु बाख्रापालन व्यवसायमा अभ्यस्त भइरहेका छन् । पराम्परादेखि चलिआएको बाख्रापालन व्यवसाय केही समययता व्यवसायीकरुपमै आधुनिक बाख्रापालनतर्फ मोडिएको छ । बाख्रापालन गर्ने व्यवसायीक महिला कृषकको संख्यामा समेत वृद्धि हुँदै गएको छ । कम लगानी र मिहिनेतमा सजिलैसँग बाख्रापालन गर्न सकिने भएपछि राप्तीसोनारीका महिलाहरु व्यवसायीक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । पछिल्लो समयमा यहाँ बाख्रापालन व्यवसाय फस्टाउँदै पनि गएको छ ।

बाख्रापालन व्यवसायले आयआर्जन बढाउनुका साथै आत्मसम्मान पनि बढाएको छ । अहिले राप्तीसोनारीका महिलाहरु सफल बाख्रापालक कृषक बन्दै गएका छन् । ‘पहिले खसीबाख्रा पाल्छुभन्दा लाज लाग्थ्यो । आजभोली गर्व लाग्छ,’ राप्तीसोनारी–२ मधुवाकी लिला भण्डारीले भनिन्, ‘एकपटक वाख्रापालन गरेकै कारण सम्मानित भए, सम्मानले अझै हौसला मिल्यो ।’ उनले बार्षिकरुपमा ५ देखि ८ वटासम्म खसी बेच्दै आएको बताइन् ।

तीन बर्षदेखि जननी सामाजिक उद्यमी सञ्जालमा आवद्ध भएर राप्तीसोनारीस्थित ढकेरीमा रहेको सामाजिक उद्यमी जिल्ला सहकारी संघको सहयोगमा भण्डारीले बाख्रापालन सुरु गर्नुभयो । एक दुई वटा बाख्रा पाल्न सुरु गरे पनिसहकारीको सहयोगपछि अहिले उनको खोरमा २५ वटा खसीबोका छन् । सहकारीको सहयोगमा गाउँका धेरैले बाख्रापालन गरेका छन् । घरधन्दासँगै बाख्रापालनले आम्दानी पनि हुन थालेपछि घरखर्च धान्न सहज भएको राप्तीसोनारीका महिलाहरुको अनुभव छ ।

भण्डारीजस्तै राप्तीसोनारीकै ५० वर्षिय लालकुमारी वली पनि बाख्रापालनमा व्यस्त छिन् । अहिले उनीसँग २१ वटा खसी, बोका र बाख्रा छन् । उनले पहिलेदेखि नै बाख्रा पाल्दै आए पनि सहकारीमा आवद्ध भएपछि पाएको ज्ञानका कारण बाख्रापालन व्यवसायीक बनेको छ । यसैबाट घरखर्चका साथै छोराछोरीको पढाई खर्च टरेको उनले बताइन् । बाख्रापालनबाट आएको आम्दानीकै कारण छोराछोरीलाई पढाउन सहज भएको उनको भनाई छ । सहकारीले महिलाहरुलाई तालिम पनि दिने गरेकाले बाख्रापालन गर्न थप उत्साहित छन् ।

‘पहिले पालेका खसी वेच्न दशै कुनुपर्ने अवस्था थियो तर अहिले चाहेको समयमा बेच्न पाइने भएकाले सहज छ,’ बैजापुरकी गंगाकुमारी चौधरीले भनिन्, ‘पहिले खसीबोका बेच्न समस्या थियो, अहिले सहकारीले नै बजारीकरण गरिदिन्छ, यसबाट सहज भएको छ ।’ बाख्रापालन थालेका महिला कृषकलाई सहकारीले उन्नत जातका घाँसका वेर्ना सहयोग गरेपछि अहिले घाँस पनि आफ्नै बारीमा रोपिएको छ । बाख्रापालनबाटै खुसी र आत्मासम्मान पाएकोमा गंगा पनि दङ्ग छिन् । पहिले यो पेशा गर्दा हेप्ने चलन अहिले हराउँदै गएको उनको अनुभव छ ।

सहकारीले महिला उद्यमीहरुलाई आवश्यक परेको समयमा पेस्कीस्वरुप रकम पनि दिने गरेकाले बाख्रापालनमा थप सहज भएको उनको भनाई छ । यहाँका महिलाहरुले हेफर संस्थाको सहयोगमा व्यवस्थीत खोरसमेत निर्माण गरेका छन् । घरको दैनिकीसँगै महिलाहरुले बाख्रापालन गरेर आफैंले कमाउन थालेपछि आत्मसम्मान महसुस गरेको उनको भनाई छ । महिलाहरुले बाख्रापालन व्यवसायलाई व्यवस्थित गर्दै लिएपछि भारतबाट भित्रिने खसीबोकामा कमी आएको स्थानीयहरुको भनाई छ ।

बाख्रापालनका लागि उपयुक्त हावापानीका साथै चरिचरनका लागि प्रयाप्त जंगल क्षेत्र भएकाले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । केही वर्ष पहिलेसम्म मासुका लागि खसीबोका आयात हुँदै आएका थिए । तर अहिले भने त्यस क्षेत्रबाट अहिले दशैंतिहारमा समयमा काठमाडौं, पोखरा लगायतका ठूला शहरमा निर्यात हुँदै आएका छन् । व्यवसायीक बाख्रापालनबाट यहाँका महिलाहरुले बार्षिक बैङ्क व्याज तथा छोराछोरीहरुको पढाई खर्च र घरखर्च कटाएर दुई लाख रुपैयाँसम्म सहजै आम्दानीसमेत गर्न थालेका छन् ।

बाख्रापालनका लागि पर्याप्त चरणक्षेत्र रहेको राप्तीसोनारीका महिलाहरुले आफ्नो बारीमा डाले घाँस तथा भिटामिन योग्य घासँखेती पनि गरेका छन् । बाख्राले नै मनग्य आम्दानी दिने भएपछि महिलाहरु दङ्ग मात्र छैनन्, विगतमा गरेको दुखसमेत बिर्संदै गएका छन् । राप्तीसोनारी–६ फत्तेपुरमा पालिकामै सबैभन्दा ठूलो बाख्रा तथा कुखुरापालनका लागि इमान एग्रीकल्चर फर्म सञ्चालनमा आएको छ । यसै बर्षदेखि सञ्चालनमा फर्ममा ल्याएको सञ्चालिका तृष्णा स्याङ्तान लामाले जानकारी दिइन् । ‘भविष्यमा समेत राम्रो आम्दानी गर्न सकिने सोचेर फर्म सञ्चालनमा ल्याइएको हो । बाख्रापालनमा राम्रो आम्दानी छ,’ सरकारी स्रोतबाट केही सहयोग नलिएरै बाख्रापालन गरेकी उनले भनिन् ।

हाल पहिलो चरणमा उनको फर्ममा २५ वटा बाख्रा रहेका छन् भने थप उन्नत जातका बाख्रा थप्ने तयारी भइरहेको छ । उनका अनुसार साढे ४०० कुखुरापालन गरिएको छ । पाँच विगाह क्षेत्रफलमा सुरु गरिएको फर्मभित्र रोपेका डालेघाँस हुर्किन केही समय लागेकाले खोरमा थोरै मात्र बाख्रा हालिएको सञ्चालिका लामाले बताइन् । माग उच्च रहेका कारण लोकल बाख्रा सँगसँगै उन्नत जातको बाख्रापालन सुरु गरेकी उनले बाख्राको आहाराका लागि १५ हजार विरुवा सुपर नेपियर र ५ हजार अन्य डालेघाँसका विरुवा रोपिएको उनको भनाई छ । राप्तीसोनारी गाउँपालिकाभित्र बाख्रापालनको राम्रो सम्भावना भएकाले यस ब्यवसायमा आकर्षण बढेको उनको भनाई छ ।

गाउँपालिकामा पुरुषभन्दा बढी महिला बाख्रापालन ब्यवसायमा आकर्षित भएका छन् । बाख्राको उचित स्याहारसुसार गर्ने हो भने आम्दानीको गतिलो माध्यम बन्ने उनको भनाई छ । बाख्रापालक महिलाहरुले उत्पादन गरेका खसी काठमाडौं, पोखरा लगायतका शहरहरुमा बाख्रा बिक्रीका लागि कुनै पनि समस्या नरहेको राप्तीसोनारी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख जयबहादुर कार्कीले बताए । व्यवसायीकरुपमा बाख्रापालन गरेर मनग्य आम्दानी लिन सकिने पनि उनले बताए । व्यवसायीक पशुपालनको माध्यमबाट आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्षमा पशुपालनतर्फ ५६ लाख ७० हजार रकम विनियोजनसमेत गरेको छ ।

पशु सेवा शाखा प्रमुख कार्कीका अनुसार गाउँपालिकाभर ४७ वटा व्यवसायीक बाख्रापालन फर्म दर्ता भएका छन् । पशु सेवा शाखा प्रमुख कार्कीका अनुसार सबैभन्दा धेरै रकम साझेदारी बाख्रा प्रवद्र्धनतर्फ १९ लाख ८० हजार रुपैयाँ विनियोजन भएको छ । जसमा ९ लाख ९० हजार रुपैयाँ संघीय सरकारमार्फत आएको छ । त्यस्तै पशु आहारा कार्यक्रमतर्फ ७ लाख ५० हजार, पशु औषधि खरीदतर्फ ६ लाख र २ हजार कुखुरा वितरणका लागि ५ लाख ५० हजार रुपैयाँ आर्थिक बर्ष २०७७÷०७८ मा विनियोजन भएको छ । त्यस्तै गोठ सुधार कार्यक्रमअन्तरगत ५ लाख, विभिन्न तालिम तथा गोष्ठीका लागि ४ लाख, पशु स्वास्थ्य कार्यक्रमका लागि ३ लाख ६५ हजार, पशु स्वास्थ्य शिविरतर्फ २ लाख, पशुसम्बन्धी कार्यक्रमहरुको अनुगमन तथा मूल्यांकनतर्फ १ लाख ५० हजार, महामारी नियन्त्रणतर्फ १ लाख २५ हजार र प्रयोगशाला कार्यक्रमका लागि ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १२:४३