सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

अब नेपालमै ‘रेम्डिसिभिर’को उत्पादन

काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने ‘रेम्डिसिभिर’ औषधिको उत्पादन अब नेपालमै हुने भएको छ । वीरगन्जस्थित नेसनल हेल्थकेयरले रेम्डिसिभिर औषधिको उत्पादन गर्न लागेको हो । हेल्थकेयरलाई यो औषधि उत्पादनको अनुमति दिइएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । अबको एक महिनाभित्रमा नेसनल हेल्थ केयरले रेम्डिसिभिरको उत्पादन सुरु गरिसक्ने उनले बताए ।

हाल नेपालमा रेम्डिसिभिरको चरम अभाव छ । अभाव सुरु भएसँगै यसको कालोबजारीसमेत भइरहेको छ । कालोबजारीमा संलग्न केही औषधि पसलेलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ । कतिपयले रेम्डिसिभिरको सिसिमा अन्य औषधि भरेरसमेत बिक्री गरेका घटना सार्वजनिक भएको छ । कालोबजारी बढेपछि सरकारले रेम्डिसिभिरको मूल्य प्रतिभाइल ४९ सय तोकेको छ ।

तर, कतिपय औषधि पसलेहरुले यसको मूल्य प्रति भाइल ४५ हजारसम्म असुलेका छन् । नेपालमा भारतबाट रेम्डिसिभिर आयात हुँदै आएको थियो । तर, पछिल्लो समय भारतमै यसको माग उच्च बनेसँगै निर्यातमा भारतले रोक लगाएको छ । भारतले रोक लगाएपछि अहिले बंगलादेशबाट यसको आयात हुने गरेको विभागले जनाएको छ । तर माग अनुसार आपुर्ति नहुँदा बजारमा यसको अभाव र कालोबजारी भइरहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १०:०३