सूचनाको शक्ति - The Power Of Information

        

समृद्धि यात्रा

जीवित संग्रहालय ‘ढकेरी वनस्पति उद्यान’

जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले उद्यानमा विभिन्न वनस्पति प्रजातिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण कार्य भइरहेको छ ।

बाँके । श्रीखण्ड बगैचा, वनस्पतिक पारिवारीक बगैचा, शैक्षिक बाटिका, जडिबुटी नर्सरी, क्याक्टस हाउस । वैज्ञानिक तथा शैक्षिक प्रयोजनका लागि दुर्लभ तथा लोपोन्मुख प्रजातिको संरक्षण, आर्किड–संरक्षण तथा अन्य प्रदर्शन प्लटहरूको ब्यवस्थापन । वनस्पतिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण स्थल, शैक्षिक उद्यान तथा वनस्पतिको क्षेत्रमा अध्ययन गर्नेहरूको लागि महत्वपूर्ण मानिन्छ, ढकेरी बनस्पति उद्यान । ढकेरी वनस्पति उद्यान २०५६ सालमा स्थापित उद्यान हो ।

यो राप्तीसोनारी गाउँपालिका–९ मा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । यहाँ पुग्ने जो कोहीको मन पनि वनस्पती उद्यानमा फैलिएको सुगन्धले लोभ्याउँछ । नेपालगन्ज उपमहानगरपालिकाबाट करिव २६ किमी टाढा पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित दक्षिणतर्फ स्थापित रहेको छ, यो उद्यान । त्यही भएर पनि यहाँ नपुगेका ब्यक्ति कमै मात्रामा भेटिन्छन् । समुद्री सतहबाट १६० मिटर उचाईमा करिव ५ हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा वनस्पतिको अध्ययन, जडिबुटी एव् गैरकाष्ठ वनपैदवार सर्भेक्षण, सम्र्वद्धन तथा वनस्पतिको रासायनिक गुणहरूको प्रतिफल स्थानीय स्तरमा पुर्याउने काम गरिन्छ ।

बाँकेमै पहिलो वनस्पति उद्यान भएकोले यसले आन्तरिक पर्यटनलाई समेत बढवा दिइरहेको छ । यहाँ उद्यान विकास कार्यक्रम अन्तरगत स्वदेशी शोभनीय फूलबिरुवा अनुसन्धान, मौसमी शोभनीय फूल, बिरुवा, बेर्ना उत्पादन, प्रदर्शनीस्थल स्थापना, शैक्षिक वाटिका ब्यवस्थापन तथा जाति विशेष उद्यान ब्यवस्थापन जस्ता कामहरू सञ्चालनमा छन् । उद्यान अवलोकनका लागि सजिलैसँग बस, जिप, कार तथा अन्य भाडाका सवारी साधन उपलब्ध छन् । जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले उद्यानमा विभिन्न वनस्पति प्रजातिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण कार्य भइरहेको छ ।

उद्यानभित्र रहेका श्रीखण्ड बगैचा, वनस्पतिक पारिवारीक बगैचा, शैक्षिक बाटिका, जडिबुटी नर्सरी, क्याक्टस हाउस लगायत यहाँ रहेका वनस्पतिको अवलोकन गर्न विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्बन्धित पेशाकर्मी मनोरञ्जनस्थलको रुपमा घुम्न आउँछन् । यसले गर्दा उद्यानलाई शैक्षिक केन्द्रको साथै पर्यापर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने पर्याप्त सम्भावना छन् । २०७२÷०७३ मा गरिएको सर्वेक्षण, अनुसन्धान अनुसार उद्यानभित्र २८६ प्रजातिका वनस्पति छन् । हाल वनस्पतिको प्रजाति करिव ४०० पुगेको छ । तीमध्ये अधिकतम वनस्पति झारका १२१ प्रजाति, बुट्यानका ८३, रुख ५६ र २९ प्रजातिका लहराहरू संरक्षण गरिएको छ ।

उद्यानभित्र संरक्षित मुख्य प्रजातिमा सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, करिलो, बेतलौरी, आँक, राजबृक्ष, कालो मुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, सिन्दुर, खयर, अनन्तमुल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो लगायत रहेका छन् । उद्यानमा दूर्लभ, लोपोन्मुख तथा रैथाने वनस्पति प्रजातिको संकलन तथा संरक्षण एवम् ब्यवस्थापन गर्ने, स्वदेशी शोभनीय फूल विरुवाको अध्ययन तथा अनुसन्धान गर्ने, ल्याण्डस्केप तथा जाति विशेष उद्यानको नियमित संरक्षण तथा व्यवस्थापन गर्ने, मौषमी शोभनीय फूल विरुवाहरुको उत्पादन तथा उद्यानमा रोपण गरी वनस्पति उद्यानलाई आर्कषक तथा मनमोहक पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने मुख्य क्रियाकलाप थालिएको छ ।

यस्तै उद्यानमा सूचना केन्द्र ब्यवस्थापन गरी आम जनमानसमा विभिन्न उपयोगी वनस्पति प्रजातिको संरक्षण संवद्र्धनका लागि सूचना प्रवाह गर्ने, विभिन्न उपयोगी वनस्पतिको प्रर्दशन तथा जर्मप्लाज्म संरक्षण गर्ने, उद्यानलाई विभिन्न वनस्पति प्रजातिको अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, उद्यान व्यवस्थापन सम्बन्धमा कार्यरत कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने रहेको छ । विभिन्न अन्तर्राष्ट्रिय उद्यानमा भगिनी सम्बन्धसमेत स्थापित गरी उद्यान ब्यवस्थापन सम्बन्धमा एक–आपसमा ज्ञानको आदानप्रदान गर्ने, सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त गरी अन्तर्राष्ट्रिय स्तरमा वनस्पति उद्यानको पहिचान स्थापित गर्ने लगायत क्रियाकलाप रहेको छ ।

दुर्लभ वनस्पति संरक्षणमा समस्या

नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित संग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण संकटमा परेको छ । सरकारले बजेट कटौती गरेपछि संरक्षणमा समस्या भएको वनस्पति अनुुसन्धान केन्द्र, नेपालगन्जका प्रमुख वरिष्ठ वैज्ञानिक सुनीलकुमार आचार्यले बताए । ‘सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा नहुँदा उद्यानमा रहेका चार सय प्रजातिका दुर्लभ वनस्पति संरक्षण गर्न समस्या भएको छ,’ वरिष्ठ वैज्ञानिक आचार्यले भने । उनका अनुसार देशका विभिन्न स्थानबाट थरीथरी प्रजातिका वनस्पतिको अनुसन्धान गरी संरक्षण गर्न राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा रहेको वनस्पति उद्यानका लागि लागि पर्याप्त बजेट विनियोजन नहुँदा मुस्किल भएको छ ।

रकम नभएपछि संरक्षणमा खटिने नर्सरी नाइकेको पारिश्रमिक कटौती गरेर काममा लगाइएको वरिष्ठ वैज्ञानिक आचार्यले बताए । वनस्पति अध्ययन, संरक्षण तथा उद्यान विकासका लागि चालू आर्थिक वर्षका लागि संघीय सरकारले १२ लाख विनियोजन गरेको छ । गत आर्थिक वर्ष पाँचवटा कार्यक्रम अन्तरगत झन्डै ३० वटा क्रियाकलापका लागि रकम विनियोजन भएको थियो । यस वर्ष तीनवटा कार्यक्रमका बजेट विनियोजन नगरिएको उनले बताए । ‘दुईवटा कार्यक्रम शीर्षकमा रकम दिए पनि क्रियाकलाप घटाएर एकदमै न्यून बजेट पठाएको छ,’ उनले भने ।

नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित संग्रहालयका रूपमा यसलाई लिन्छ । तर, सरकारले वनस्पति संरक्षण तथा उद्यान विकासमा चासो नदिएको उनको गुनासो छ । संघीय सरकारले वनस्पति संरक्षण र उद्यान विकासको रकम अनुसन्धान केन्द्र भवन निर्माणमा लगाएको छ । यसअघि जिल्ला वनस्पति कार्यालयले दुर्लभ, लोपोन्मुख तथा रैथाने वनस्पति प्रजातिको संकलन, संरक्षण तथा व्यवस्थापन, स्वदेशी शोभनीय फूल, बिरुवाको अध्ययन, अनुसन्धान, ल्यान्डस्केप तथा जाति विशेष उद्यानको नियमित संरक्षण तथा व्यवस्थापन गर्दै आएको थियो ।

रकम कटौतीले यी कार्यक्रम प्रभावित भएको वरिष्ठ वैज्ञानिक आचार्यले बताए । उनका अनुसार, वनस्पति अध्ययन, अनुसन्धान तथा बजारीकरण, नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम र राप्ती नदी प्रणाली संरक्षण कार्यक्रम यसवर्ष रोकिएका छन् । ‘कृषकलाई वनस्पति र जडीबुटी सम्बन्धी तालिम दिन सकिने छैन । विभिन्न जाति र प्रजातिका वनस्पतिको अध्ययन तथा अनुसन्धानमा समेत असर पर्नेछ,’ उनले भने ।

ढकेरी वनस्पति उद्यानमा सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, कुरिलो, बेतलौरी, आँख, राजवृक्ष, कालो मुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, हर्रो, बर्रो, सिन्दुर, अनन्तमूल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो, कालमेघ, छतिवन, पीपला लगायत ४०० दुर्लभ प्रजातिका वनस्पति संरक्षण गरिएको छ । यहाँ वनस्पतिको अवलोकन गर्न स्वदेशी तथा विदेशी विद्यार्थी, अनुसन्धानकर्ता र वनस्पतिको क्षेत्रमा काम गर्ने कार्यालयका प्रतिनिधि आउने गरेकाले यसलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन केन्द्र बनाउन सकिने वरिष्ठ वैज्ञानिक आचार्यले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०७:५८