सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका अस्पतालमा अक्सिजन ट्याङ्क जडानपछि अभाव कम हुँदै

बाँके । बाँकेका दुईवटा अस्पतालमा अक्सिजन ट्याङ्क जडान भएपछि अक्सिजनको अभाव कम हुने भएको छ । शिक्षण अस्पताल कोहलपुरमा विगतदेखि नै अक्सिजन ट्याङ्क रहेकोमा भेरी अस्पतालमा भर्खरै ट्याङ्क जडान भएको छ ।

सोमबार अस्पतालमा ट्याङ्क जडान भएकोमा मङ्गलबार भारतबाट लिक्विड अक्सिजन आएपछि ट्याङ्कमा भण्डारण गरिएको छ । अब पाँच दिनभित्र अस्पतालको केन्द्रीय पाइप लाइनबाट बिरामीसम्म सिधै अक्सिजन पुर्याउन सकिने भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।

२० हजार लिटर क्षमताको अक्सिजन ट्याङ्कबाट एकपटकमा करिब दुई हजार एक सय सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्रमुख डा.थापाले जानकारी दिए । ‘यसबाट करिब पाँच दिनसम्म अक्सिजनको आपूर्ति गर्न सकिनेछ,’ अस्पतालका मेसु डा.थापाले भन्नुभयो ।

उनका अनुसार तत्काल सिलिन्डर पनि प्रयोग हुन्छ, दीर्घकालीन रूपमा अक्सिजन प्लान्ट राख्ने योजना छ । हाल अस्पतालले सिलिन्डरमार्फत बिरामीसम्म अक्सिजन पूर्ति गर्दै आएको छ । अस्पतालमा बाँकेसहित प्रदेशका अन्य जिल्ला, कर्णाली र सुदूरपश्चिम प्रदेशका कोभिडका बिरामी उपचाररत छन् ।

दुवै अस्पतालमा अक्सिजन ट्याङ्क जडान भएपछि अक्सिजन सिलिन्डरको प्रयोगमा कमी हुने चिकित्सकले बताएका छन् । बाँकेका अस्पतालमा अक्सिजन ट्याङ्कमार्फत आपूर्ति भएमा यहाँका अक्सिजन उद्योगबाट उत्पादन हुने अक्सिजन बाहिरी जिल्लामा पठाउन थप सहजता हुने बताइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०७:३७