सूचनाको शक्ति - The Power Of Information

        

आज राष्ट्रिय सभाको उपनिर्वाचन

बादललाई जिताउन माधव नेपाल निर्णायक, यस्तो छ अंकगणित

माओवादी छाडेर एमालेमा गएका बादललाई आफ्नो ठाउँको रक्षा गर्ने उस्तै चुनौती छ ।

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन रिक्त पदमा आज उपनिर्वाचन हुँदैछ । निर्वाचनमा नेकपा एमालेको तर्फबाट माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा.खिमलाल देवकोटा उम्मेदवार छन् । देवकोटालाई एमालेकै नेता माधवकुमार नेपाल समूह, काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ ।

पार्टीभित्रको विवादले एमाले फुटको संघारमा पुगेपछि नेता नेपालको तर्फबाट राष्ट्रियसभा विपक्षी गठबन्धनबाट देवकोटा उम्मेदवार चयन गरेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच सहमतिपछि एमालेभित्र विवाद समाधान कार्यदलले समाधानको बाटो खोजिरहेको बेलामा राष्ट्रियसभा निर्वाचनले विवाद अर्को मोडमा पुग्नसक्ने नेताहरूले बताउँदै आएका छन् ।

माधव नेपाल निर्णायक

मंगलबार गृहमन्त्री बादल भोट माग्न नेता नेपाल निवास पुगेका थिए । तर, नेता नेपालले आफ्नो प्रेस सहयोग मोहन गौमतमार्फत आफ्नो उम्मेदवार देवकोटा नै भएको कारणले बादललाई भोट नहाल्ने स्पष्ट पारेका थिए । तर, एमालेका प्रवक्ता प्रदीप ज्ञवाली भने नेता नेपालको तर्फबाट गृहमन्त्री बादललाई नै भोट आउनेमा विश्वस्त छन् ।

राष्ट्रियसभाको बागमती प्रदेशमा माधव समूह नै निर्णायक मानिएको छ । माओवादी छाडेर एमालेमा गएका बादललाई आफ्नो ठाउँको रक्षा गर्ने उस्तै चुनौती छ । तर, नेता नेपालको मंगलबार साँझको विज्ञप्तिले बादललाई जित्न मुस्किल पर्ने देखिन्छ । यता, निर्वाचनको मौन अवधि सुरु भइसकेपछि पनि प्रधानमन्त्री ओलीले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री बादललाई नै भोट हाल्न पार्टीभित्र ह्वीप जारी गरे ।

उनले पार्टीभन्दा बाहिर गएर कारबाही गर्ने चेतावनीसहित अपिलपत्र सार्वजनिक गराए । तर, निर्वाचन आयोगले ओलीको त्यो कदमलाई ध्यानाकर्षण गराइसकेको छ । एमाले विवाद समाधान हुने विकल्पबारे छलफल चलिरहेको बेलामा राष्ट्रियसभाको निर्वाचनपछि एमालेको विभाजनरेखा स्पष्ट हुन सक्ने जानकारहरूले विश्लेषण गर्न थालेका छन् ।

यस्तो छ अंकगणित

बागमती प्रदेशमा सबैभन्दा बढी नेकपा एमालेका ५७ सांसद् छन् । प्रदेशभरका स्थानीय तहमा १३३ गरी एमालेका जम्मा १८९ मतदाता छन् । प्रदेशसभाको ५७ मध्ये पशुपति चौलागाईंको मृत्यु भएपछि अहिले ५६ सांसद् छन् । यसको कुल मतभार ५ हजार १३० हुन्छ । तर, एमाले विभाजित भएपछि संस्थापन पक्षमा प्रदेशसभामा ३७ र स्थानीय तहमा ८७ मतदाता छन् । यसको कुल मतभार ३ हजार २१० हुन्छ ।

नेता नेपाल पक्षमा २२ प्रदेशसभा र ३८ स्थानीय तहका मतदाता छन् । यसको कुल मतभार १ हजार ७४० हुन्छ । यही अवस्थामा माधव पक्षले भोट नहाले बादलले जित्न नसक्ने प्रस्ट हुन्छ । प्रदेशमा कांग्रेसको २२ र स्थानीय तहमा ६८ गरी ९० मतदाता छन् । यसको मतभार २ हजार २८० हुन्छ भने, प्रदेशसभामा माओवादी केन्द्रको प्रदेशसभामा २३ र स्थानीय तहमा ३३ गरी ५६ मतदाता छन् । माओवादीको मतभार १ हजार ६९८ हुन्छ । राप्रपाले पनि बादललाई नै मतदान गर्ने निर्णय गरेको छ ।

यस्तो अवस्थामा एमाले एकढिक्का भए गृहमन्त्री बादलको जित सुनिश्चित देखिन्छ । तर, माधव नेपालले आफ्नो उम्मेदवार देवकोटा हो भन्दै गर्दा गठबन्धनको सबै मत आए उनैको जित निश्चित देखिएको छ । माधव पक्षले आफ्नो अडानबाट पछि नहटे ५ हजार ७१८ मतका साथ देवकोटाको जित हुने देखिन्छ । राष्ट्रियसभाको निर्वाचन जित्न ४ हजार ६०० मतभार चाहिन्छ । राष्ट्रियसभा निर्वाचनको मतदातामध्ये एक प्रदेश सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहको मतभार १८ हुन्छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०६:४३