सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

‘कोरोनाको तेस्रो भेरियन्ट ५० प्रतिशत बढी संक्रामक’

बलियो मानिएको उमेर समूहमा उच्च संक्रमण रहेकाले बढी असर गर्ने चिकित्सकको दावी ।

काठमाडौं । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । नेपालमा गतहप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१. ६१७.१ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ ।

यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखा परेको भेरियन्टभन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएका छन् । बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.कृष्ण पौडेलले शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेल ।

उनले भने, ‘प्रारम्भिक अध्ययनहरूले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । जुन अप्रत्यक्ष रुपमा नेपालमा संक्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ भनेर । केही अध्ययनहरूमा, बेलायतको मेडिकल जर्नलमा ब्लगमा उनीहरूले लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ है भनेर आकलन गरिएको छ । उमेर समूह हेर्ने हो भने २० देखि ४४ वर्ष समुहमा उच्च दरमा संक्रमण छ । संक्रमणको मुख्य हिस्सा यो उमेर समूहमा छ । यसले उमेर समूहको हिसाबले बलिया मानिएका उमेर समूहमा पनि बढी नै असर गर्छ । जटिलता ल्याउँछ । कुनै पनि उमेरलाई यसले छोड्दैन भन्ने अप्रत्यक्ष रुपमा देखिन्छ ।’

डा.पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्युदर कम गराउन प्रभावकारी हुने पनि बताए । उनले सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाइलगायत जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोभिड–१९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०६:३०