सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले नै मिचे निर्वाचनको आचारसंहिता, आयोगको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौं । भोलि हुने बागमती प्रदेशको राष्ट्रिय सभाको उपनिर्वाचनको मौन अवधि शुरु भइसकेको अवस्थामा उम्मेद्वारहरुलाई मत मागिएको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै केही व्यक्तिहरुले आचारसंहिता विपरित वक्तव्य दिएको, प्रेस विज्ञप्ति निकालेका, प्रकाशन तथा प्रशारण गरेको साथै केहि सञ्चार माध्ययमहरुले उम्मेद्वारहरुको अन्तर्वार्ता लिएको भन्दै आपत्ति जनाएको हो ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केहि व्यक्तिहरुले आचारसंहितले विपरित वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेद्वारको जीत हारको पूर्वानुमानका सामाग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकाले यस तर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा अचारसंहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति आघात पार्ने कुरा स्पष्टनै छ ।’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले जेठ ३ गते सोमवार राति १२ बजेबाट लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी गरेको छ । तर प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने आज एक विज्ञप्ति जारी गर्दै एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई निर्वाचित गराउन अपील गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १८:५३