सूचनाको शक्ति - The Power Of Information

        

अरब सागरको चक्रवातको असर नेपालमा, सर्तक रहन आग्रह

काठमाडौं ।  अहिले लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका केहि स्थानमा पानी परिरहेको छ।

अरब सागरमा रहेको शक्तिशाली चक्रवात र प्रि–मनसुनी प्रणालीको सक्रियताका कारण मौसम पूर्णरुपमा बदली भई केहि स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आज दिनभर देशका अधिकांश स्थानको मौसम बदली भई सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा पानी पर्ने जानकारी दिए। सुदूरपश्चिम र कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षा हुने उनको भनाइ छ।

यी दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हिमपात समेत हुने संभावना छ। आज बाग्मती, प्रदेश नम्बर एक र दुईमा भने पानी पर्ने संभावना न्युन रहेको छ।

हाल पूर्वी–मध्य अरब सागरमा रहेको शक्तिशाली आँधीका कारण गएरातिदेखि देशका धेरै स्थानको मौसम सामान्यदेखि पूर्ण बदली हुन सुरु भएको छ।

गएराति हुम्ला, अर्घाखाँची, म्याग्दी र जुम्लामा पानी परेको महाशाखाले जानकारी दिएको छ। आगामी शुक्रबारसम्म आँधीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने महाशाखाको पूर्वानुमान छ।

आगामी शनिबारदेखि यसको असर कम भई मौसममा सुधार हुने महाशाखाले जनाएको छ। अहिले उक्त चक्रवातसँगै प्रि-मनसुनको गतिविधिका कारण मेघगर्जन-चट्याङ-हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार ०८:५०