सूचनाको शक्ति - The Power Of Information

        

कोभिड महामारीमा नाट्टा बाँकेले दियो खाद्यान्न र अक्सिजन बैंकलाई सहयोग

बाँके । कोभिड-१९ महामारीले सबैभन्दा समस्या पारेको बाँकेमा नाट्टाले राहत वितरण गरेको छ ।

भेरी अस्पतालमा कोभिड उपचार गरिरहेका बिरामी र बिरामीका आफन्तहरूलाई खाना खान सहज गराउनका लागि नाट्टा बाँकेले एक लाखको खाद्यान्न सहयोग गरेको हो ।

बिरामी र आफन्तका लागि खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले एक लाख दुई हजार रुपैयाँ बराबरको चामल, दाल, तेल सहयोग गरेका हुन् ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणा, उपमेयर उमा थापा मगर, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल लगायतको उपस्थितीमा खानाको व्यवस्थापन गरिरहेको मण्डललाई सोमबार खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

माता रसोई मित्र मण्डलले अस्पतालका बिरामी र आफन्तलाई निकै सस्तोमा खाना खुवाउने गरेको छ । यस्तै नाट्टा बाँकेले बर्दिया अक्सिजन बैंकलाई पनि एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोभिड संक्रमितलाई अक्सिजनको अभाव टड्कारो रहेकाले त्यसलाई व्यवस्थापन गर्न नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले बर्दिया अक्सिजन बैंकका संयोजक भेषराज पौडेललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

रकम पाएपछि संयोजक पौडेलले संक्रमितलाई बचाउन नाट्टाको सहयोग हितकारी हुने बताए । बिरामीलाई अक्सिजनको अभाव नहोस भन्नका लागि बैंकले काम गरिरहेको र नाट्टा बाँकेको सहयोगले व्यवस्थापनमा साथ मिलेको उनले बताए ।

नाट्टा बाँकेको आग्रहमा राहत तथा सहयोगका लागि नाट्टा केन्द्रीय कार्यसमितिले रकम उपलब्ध गराएको अध्यक्ष सिग्देलले बताए । पश्चिम नेपालको पर्यटन गतिविधिमा सक्रिय रहेको नाट्टा बाँके कोभिड महामारीले निषेधाज्ञा भएपछि राहत वितरणमा लागेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार ०८:२४