दाङ । रेडियो हापुरेका संस्थापक स्टेशन म्यानेजर तथा शेयर सदस्य दाङ बबई गाउँपालिका–४ का पत्रकार लक्ष्मण बस्नेतको मृत्यु भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्यसमेत रहेका ३३ वर्षिय बस्नेतको उपचारको क्रममा आज दिउँसो १ बजेतिर मृत्यु भएको हो । यस दुःखद खबरले रेडियो हापुरे परिवार स्तब्ध भएको छ ।
उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको थियो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ थियो । कोरोना संक्रमित रहेका उनको ६ दिन अघिमात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । उनमा निमोनिया र स्वासप्रस्वासमा भने समस्या थियो ।
उनका बुवा टोपबहादुर बस्नेतको कोरोनाको उपचारकै क्रममा आइतबार भैरहवामा निधन भएको थियो । उनी नेकपा एमालेका पश्चिम दाङका नेतासमेत थिए । उनका बुवाको मलामी नफर्किदै छोराको निधनले बबई गाउँपालिका शोकमा डुबेको छ । संस्थापक म्यानेजर बस्नेतको निधनमा रेडियो हापुरेबाट प्रशारण हुने समाचारबाहेक सूचना तथा मनोरञ्जनका सम्पूर्ण कार्यक्रम आज एक दिनलाई बन्द गरिएको छ ।
।