सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

‘हामी दिन्छौं रगत’पछि एमाले सचिवले थाले ‘संकटमा साथी र पार्टी’ अभियान

उनले कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त भइरहेका बेला संक्रमितहरुको मनोबल बढाउन अभियानको थालनी गरिएको जानकारी दिए ।

बाँके । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि देश लकडाउनमा छ । देशभर कोरोनाको उच्च जोखिम छ । बाँकेमा संक्रमण दर उच्च छ । घरघरमा संक्रमितहरु बढेको बढ्यै छन् । अस्पतालमा बेड पाउने अवस्था छैन । स्थानीय तहमा बनेका आइसोलेसन बिरामीले भरिभराउ छन् ।

कोरोना संक्रमित बिरामीहरुको सेवामा डाक्टर र स्टाफ नर्सलाई खटिन भ्याईनभ्याई छ । बिरामी भोकायो, औषधि खायो खाएन, तिर्खायो होला भनेर सोधपुछ गरिदिने आफन्तहरुसम्म कोरोना संक्रमितले नपाउने अवस्था छ । अझ कोरोना संक्रमणका बेला संक्रमितको बनोबल उच्च राख्न मनोपरामर्श आवश्यक पर्छ, तर कसले गरिदिने यी सबै काम ?

कोरोना महामारीका बेला नागरिकको घरदैलो र संक्रमितहरु सेवामा निरन्तर खटिएका एमाले बाँकेका सचिव रत्न खत्रीले एकपछि अर्को अभियान चलाएर संक्रमितहरुको मनोवल बढाइरहेका छन् । लकडाउनका कारण बाँकेमा रगत अभाव हुन थालेपछि ‘हामी दिन्छौं रगत’ अभियान सुरु गरेका सचिव खत्रीले फेरि अर्को अभियानको थालनी गरेका छन् ।

संस्थागत रक्तदान नभएर बाँकेमा रगत अभाव हुन थालेपछि शनिबार मात्रै ‘हामी दिन्छौं रगत’ अभियान सुरु गरेका सचिव खत्रीले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसर पारेर ‘संकटमा साथी र पार्टी’ अभियानको थालनी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जनताको बहुदलीय जनवादका प्रणेता जननेता कमरेड मदन भण्डारी र कुशल संगठक कमरेड जिवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटीको आयोजनामा कोरोना संक्रमितलाई घरघरमा पुगेर मनोपरामर्श दिने, औषधि, फलफूलसहित आवश्यक जडिबुटी प्रदान गर्ने कार्यक्रमको सुरुवात गरियो ।’

सचिव खत्रीले ‘संकटमा साथी र पार्टी’ अभियानको थालनी गरेको जनाउ दिँदै यो अभियानमा सहभागी भएका एमाले बैजनाथ गाउँ कमिटीका पदाधिकारीसहित सम्पूर्ण सदस्यहरुलाई धन्यवादसमेत दिएका छन् । उनले कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त भइरहेका बेला संक्रमितहरुको मनोबल बढाउन अभियानको थालनी गरिएको जानकारी दिए ।

यसअघि सचिव खत्रीले आफैले रक्तदान गरेर ‘हामी दिन्छौं रगत’ अभियानको सुरुवात गर्दै यस अभियानमा जोडिन सबैलाई अपिलसमेत गरेका थिए । ‘अब होम आइसोलेसनमा रहेका संक्रमितहरुको मनोवल बढाउन ‘संकटमा साथी र पार्टी’ अभियानको थालनी गरेका छौं । यसमा सबैको साथ, सहयोग र सदभाव रहनेछ,’ सचिव खत्रीले भने ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ११:०२