सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं महानगरपालिकाले असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ ।

जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न महानगरपालिकाले सर्कुलर गरेको हो ।

विद्यालयको अनुकूलताअनुसार अनलाइन, अफलाइन, टेलिफोनलगायत यसअघि सञ्चालित परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न सकिने शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जनाए ।

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने व्यवस्था मिलाउने महानगरपालिकाले ताकेता गरेको हो । कतिपय निजी विद्यालयले नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रको अनलाइन पठनपाठनसमेत सुरु गरिसकेका छन् ।

कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने छिट्टै निर्णय लिएर सूचना जारी गरिने सुवेदीले बताए । शिक्षा मन्त्रालयले गत वर्षको कोरोना महामारीका कारण वैशाखबाट सुरु हुने शैक्षिक सत्रलाई असारमा सारेको थियो ।

यसपालि पनि वैशाखदेखि शिक्षण संस्थाहरू ठप्प छन् । पठनपाठन र परीक्षा रोकिएको छ । मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र सुरु हुने जनाएको छ ।

पठनपाठन र परीक्षा हुन नसकेकाले चालु शैक्षिक सत्रलाई अझै पछाडि थकेल्ने कि भन्ने विषयमा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । जेठमा सञ्चालन हुने कक्षा १० र १२ को परीक्षा पनि स्थगित गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ०८:४२