सूचनाको शक्ति - The Power Of Information

        

आफूखुशी शपथ लिने प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा तीन वटा रिट

काठमाडौं । आफूखुशी शपथग्रहणको भाषा मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कानूनी अड्चन खडा भएको छ । उनीविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गत शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने क्रममा तोकिएको ढाँचाभन्दा फरक किसिमले शपथ खाएपछि त्यो कानूनी कुद्धा बनेको हो ।

जसका कारण उनीविरुद्ध तीन वटा रिट परेका छन् । फेरि शपथ नलिएसम्म ओलीलाई प्रधानमन्त्रीको हैसियतमा कुनै पनि काम नगर्न–नगराउन माग गरिएको छ । ओलीले शपथ लिँदा संविधानको मानमर्दन गरेको दाबीसहित आइतबार तीन वटा छुट्टाछुट्टै रिट परेका हुन् ।

आइतबार रिट परेका भए पनि सर्वोच्च प्रशासनले अझै दर्ता भने गरेको छैन । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता सन्तोष भण्डारी  र केशरजंग केसी सहितले रिट पेस गरेका छन् ।

ज्ञवालीले अमेरिकामा तत्कालीन राष्ट्रपति बाराक ओबामाले शपथग्रहण गर्दा क्रमबद्ध नमिल्दा पुनः शपथ लिनुपरेको उदाहरण पेश गर्दै ओलीले पनि पुनः दोहोर्याएर शपथ लिनुपर्ने माग गरेका छन् ।

उनको रिटमा ओलीको शपथ ग्रहण संविधानअनुकूल नभएको दाबी गरिएको छ । ज्ञवालीको रिटमा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले पनि हिन्दी भाषामा शपथ लिँदा विवाद भएपछि सर्वोच्चको आदेशमा पुनः नेपालीमा शपथ लिएको उदाहरण पनि पेश गरिएको छ ।

यसैगरी अधिवक्ता भण्डारी र केशरजंग केसी लगायतले पेस गरेको रिटमा ओलीले संविधान अनुसार शपथ लिन नमान्दा पनि राष्ट्रपति भण्डारीले हाँसेर स्वीकारेको उल्लेख छ । यसले संविधानको उल्लंघन भएको पनि रिटमा स्पष्ट गरिएको छ ।

रिटमा राष्ट्रपति र प्रधानमन्त्रीले जानाजान नेपालको संविधान मिच्ने र नेपाली जनताको अपमान गर्ने काम गरेको पनि उल्लेख गरिएको छ । शपथग्रहण गराउने क्रममा राष्ट्रपति भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भनेकी थिइन् ।

तर ओलीले सत्य निष्ठापूर्वक मात्रै भने । राष्ट्रपतिले ‘प्रतिज्ञा गर्छु’ भनी पुनः दोहोर्याइन् । त्यसपछि ओलीले ‘त्यो पर्दैन’ भने । अनि भण्डारी ‘हिहि..’ गर्दै हाँसिन् ।  यहाँनेर दुवैले संविधानको उल्लंघन गरेको दाबी पनि गरिएको छ ।

ओलीले ईश्वरको नाममा शपथ पनि खाँदैनन् । यसपालि पनि खाएनन् । तर जो पशुपतिनाथको मन्दिरमा जान्छ र जसले राजनीतिक अभिष्ट पूरा गर्न राममन्दिर नै बनाउन लगाउँछ उसले ईश्वरको नाममा शपथ नलिनु पनि हाँस्यास्पद भएको टिप्पणी भइरहेको छ ।

कतिपयले त यसअघि शपथ लिँदा ईश्वरको नाम नलिएपछि नै खुरुखुरु पशुपतिनाथभित्र छिर्ने ओलीलाई प्रदेश निःषेध लगाइनुपर्छ समेत भनेका थिए ।

राजनीतिक रुप पनि लियो शपथले 
यो शपथले स्वभाविक रुपले राजनीतिक रुप पनि लिएको छ । जनता समाजवादी पार्टी (जसपा) ले शपथ फेरि गर्न माग गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ०८:३५