सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

फिडर जडानपछि अक्सिजन उत्पादन बढ्यो

बाँके । पटकपटक विद्युत् आउने जाने समस्याले प्रभावित भएको बाँकेको एक अक्सिजन उद्योगमा छुट्टै नयाँ फिडर जडान गरिएको छ । उद्योगका लागि ११ केभीको नयाँ फिडर प्रसारण लाइन जडान गरिएको नेपालगन्ज विद्युत् वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लखनलाल मल्लिकले नेपालगन्जको परासपुरस्थित एचओ अक्सिजन उद्योगमा समस्या नहोस् भन्ने उद्देश्यले नयाँ फिडर जडान गरिएकाले अब सो उद्योगमा चौबिसै घण्टा विद्युत् रहने बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बाँके प्रहरी प्रमुख ओमबहादुर राना, नेपालगन्ज उपमहानगरका उपप्रमुख उमा थापा र भेरी अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाको पहलमा छुट्टै नयाँ फिडर जडान गरिएको मल्लिकले बताए ।

उद्योगका लागि ११ केभीको नयाँ फिडर प्रसारण लाइन जडान गरिएपछि अक्सिजन उत्पादन बढेको एचओ अक्सिजन उद्योगका सञ्चालक महेश कुर्मीले बताए । उनले प्रशासनले समयमै फिडर जडान गराएकाले अक्सिजन उत्पादन बढेकाले अभाव नहुने जनाए ।

विद्युत अनियमित हुँदा उत्पादनमा समस्या हुने गरेको थियो । एकपटक लाइन गएपछि ३५ मिनेटसम्म मेसिनले ब्याकअप लिने गर्दा समय खेर जाने गरेको थियो । विद्युत् समस्या समाधानपछि दैनिक एक हजार सिलिन्डर उत्पादन गर्न थालिएको सञ्चालक कुर्मीले बताए ।

यसअघि सो उद्योगमा दैनिक ६०० देखि ८०० सिलिन्डरसम्म मात्रै उत्पादन हुँदै आएको थियो । नेपालगन्जमा दुई अक्सिजन उद्योग रहेका छन् । एक सिलिण्डर अक्सिजनको मुल्य १५ देखि २५ हजार अग्रिम जम्मा गर्नुपर्छ । सानो सिलिण्डरको १५ हजार र ठूलो सिलिण्डरलाई २५ हजार धरौती राख्नुपर्छ ।

परसपुरमा रहेको एचओ अक्सिजन इन्डस्ट्रिज र कारकाँदोमा सूर्य शक्ति अक्सिजन उद्योग सञ्चालनमा छ, तर यी दुवै उद्योगका अधिकांश सिलिन्डर अझै पनि बजारमा रहेकाले सिलिन्डरको भने अभाव रहेको दुवै उद्योगले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ०८:३३