सूचनाको शक्ति - The Power Of Information

        

एमाले विवाद मिलाउन वार्ता टोली

काठमाडौं । एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो । बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए ।

तर प्रधानमन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताएको जानकारी दिए । गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाएका हुन् । गत शुक्रबार सिंहदरबारमा भएको वार्तामा जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार १९:२३