सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

दाङमा व्यापक बन्दै काठ बैंक अभियान

काठ बैंक तथा घाट व्यवस्थापन समितिले आज शीतलपुर घाटको सरसफाई गरेको छ ।

दाङ । दाङमा काठ बैंक अभियान व्यापक बन्दै गएको छ । काठ बैंक तथा घाट व्यवस्थापन समिति शीतलपुरको आयोजनामा आइतबार (आज) शीतलपुर घाटको सरसफाई गरिएको छ । व्यवस्थापन समितिका अध्यक्ष देविराम कुसारीको नेतृत्वमा भएको सरसफाइमा मंगलम क्रसरका सञ्चालक माधव बुढाथोकीले डोजर सहयोग गरेका थिए ।

घाटमा जल्न बाँकी भएका काठ तथा लत्ताकपडालाई एकिकृत गरिएको व्यवस्थापन समितिका अध्यक्ष कुसारीले जानकारी दिए । कोरोना महामारीबाट मृत्यु भएकाको शव दाहसंस्कार गर्न मान्छे कम आउने भएका कारण घाट अन्य समयभन्दा बढी फोहर हुने गरेकाले सरसफाई गरिएको समितिका कोषाध्यक्ष हरिप्रसाद बुढाथोकीले जानकारी दिए ।

काठ बैंकबाट थालिएको अभियान घाटको फोहर बढ्न थालेपछि घाट व्यवस्थापनलाई पनि जोडेको समितिका सचिव हेमराज डाँगीले जानकारी दिए । कोरोना महामारी बढी रहेको समयमा घाटलाई अझ बढी सरसफाई गर्नुपर्ने आवश्यक्ता भएको हुँदा घाटमा आउने सबै सर्बसाधारणलाई सरसफाईमा ध्यान दिन समितिले सबै समक्ष आग्रह गरेको छ ।

अभियानमा तुलसीपुर १२ का वडाध्यक्ष सुर्यबहादुर डाँगी (श्याम) र वडा सदस्य मानबहादुर केसीले समन्वयकारी भूमिका खेलेको समितिका सदस्य अनिश रेग्मीले बताए । कोरोनाबाट मृत्यु भएकाको शव दाह संस्कार गर्न समस्या भएपछि दाउरा संकलनबाट सुरु भएको अभियानलाई सहयोग गर्ने क्रम जारी रहेको वरिष्ठ सदस्य खगेन्द्र अधिकारीले जानकारी दिए ।

अभियानलाई तुलसीपुरका आशिष डाँगी, दिनेश डाँगी, गणेश डाँगी, जितेन्द्र केसी, प्रदिप योगी, चेतना वली, पिताम्बर बुढाथोकी र कृष्ण पुनले एक मुष्ट १७ हजार ९२५ रुपैयाँ, तुलसीपुरका दिपक डाँगीले ६ हजार २९७ रुपैयाँ, रुद्र धितालले ५ हजार ७२५ रुपैयाँ, प्रमोद केसीले ६ हजार २७० रुपैयाँ सहयोग प्रदान गरेको समितिका सहसचिव सुशील गिरीले जानकारी दिए ।

त्यस्तै अमेरिकन नागरिक राइना ग्रिनले अमेरिकाबाटै ५ हजार २८० रुपैयाँ र घोराही १७ घर भई हाल नेपाल इन्भेष्टमेन्ट बैंक शान्तिनगर शाखा प्रवन्धक झग्गु पौडेलले १ हजार ५१० रुपैयाँ सहयोग गरेका छन् । अभियानलाई तुलसीपुर १२ को तरुण सामुदायिक वन उपभोक्ता समितिले दुई ट्रयाक्टर काठ उपलब्ध गराएको बरिष्ठ सदस्य शिशिर रावतले जानकारी दिए ।

कोरोनाका कारण मृत्यु भएकाको शब दाहसंस्कार गर्न दाउराको समस्या भएपछि यो काठ बैंक अभियान थालिएको हो । काठ उपलब्ध गराउँदै गर्दा घाट फोहोर भएपछि घाटलाई पनि व्यवस्थित गर्नुपर्ने भएका कारण काठ बैंकसँगै घाटको व्यवस्थापनलाई पनि अघि बढाएको समितिका सल्लाहकार चिन्ताबहादुर गिरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार १८:१०