सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

नेपालमा संक्रमण र मृत्यदर भारतमा भन्दा दोब्बर, संक्रमण दर ४६.७ प्रतिशत 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण दर र कोरोनाका कारण मृत्युदर भारतको भन्दा दोब्बर रहेको जनाएको छ । नेपालमा परीक्षण गरिएकामा संक्रमण देखिने दर ४६.७ प्रतिशत रहेको छ भने भारतमा २०.२ प्रतिशत रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा डा.विराज कर्मचार्यले बताए । त्यस्तै, नेपालमा मृत्युदर पनि भारतको भन्दा बढी रहेको छ ।

भारतमा २.५ प्रतिशत रहेको मृत्युदर नेपालमा ६ प्रतिशत रहेको छ । नेपालमा अहिले कोरोना संक्रमितको संख्या प्रति १० लाखमा ३०३.१ जना रहेको छ, जुन भारतमा २१५ जना प्रति १० लाख रहेको छ । सामूदायमा कोरोना फैलने दर नेपालमा प्रतिव्यक्ती १.१ प्रतिशत रहेको छ भने भारतमा १.४ प्रतिशत रहेको छ । पछिल्लो हप्ताको तुलनामा सातै प्रदेशमा संक्रमितको संख्या १४ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

नेपालका ४४ जिल्लामा संक्रमण व्यापक भएको र अधिकांश जिल्लामा अधिक रहेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८०८ र होम आइसोलेसनमा १ लाख दुई हजार ४५५ जना छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमण सहरमा भन्दा गाउँमा बढी फैलिएको र सामूदायमा असर गरेको छ । लकडाउन पालना नभएकाले गाउँघरमा कोराना जोखिम बढेको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार १७:५५