सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस युवा नेता गगन थापाले भने

‘प्रधानमन्त्रीज्यू केही दिन सबैथोक छोड्नुस्, जनता जोगाउन मिलेर लागौं’

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अबको केही दिन सबैथोक छोडेर मानव जीवन रक्षाका लागि लाग्न सुझाव दिएका छन् । पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले सामाजिक संजालमा भिडियो पोष्ट गर्दै कोरोना महामारीबाट धेरै जीवन गुमाइसकेकाले अब केही दिन अन्त ध्यान दिन नहुने बताएका हुन् ।

‘अहिले पार्टीभित्रको विवाद मिलाउन, चर्काउन, फकाउन छाडिदिनुस् । केही दिनलाई सभा सम्मेलन, भेटघाट, उद्घाटन शिलान्यास सबै छाडिदिनुस् । केही दिनलाई बोल्न बन्द गरिदिनुस् ।’ थापाले भनेका छन्, ‘तपाईंको सम्पूर्ण शक्ति र समय कोरोना महामारीविरुद्धको युद्धमा लगाउनुस् ।’ कामना र प्रार्थनाले मात्रै जीवन जोगाउन सम्भव नहुने भन्दै उनले काम गरेरै देखाउनुपर्ने आवश्यकता भएको बताए ।

इमान्दारितापूर्वक महामारीसँग लडिरहेकाहरुका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने आफू प्रधानमन्त्रीलाई सहयोग गर्न तयार रहेको उनले बताए । ‘तपाईंका विचार र व्यवहारप्रति मेरा थुप्रै प्रश्नहरु छन् । तपाईंका बचन र कर्मप्रति मेरा थुप्रै असन्तुष्टिहरू छन्,’ उनले भने, ‘तर केही दिन यी सबै प्रश्न असन्तुष्टि, असहमति सबैलाई थाति राख्न म तयार छु ।’

उनले प्रधानमन्त्री ओलीलाई फेरि एकपटक मौका पाएको भन्दै यो पटक अलि फरक ढंगले काम गर्न आग्रह गरे । तपाईं र हामी मिलेर जीवनबाट आशा गुमाइसकेकालाई आशा दिने प्रयत्न गरौं, अक्सिजन नपाएर छट्पटाएकालाई श्वास दिने प्रयत्न गरौं’, उनले भने, ’अनि आर्यघाटमा पुग्ने लाशहरूको संख्या घटाउने प्रयत्न गरौं, मिलेर गरौं ।’

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १६:५१