सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

भोक मेटाउँदै एमाले, ३० रुपैयाँमा बिरामी र कुरुवालाई खाना

बाँके । नेकपा (एमाले) बाँकेले कोभिड संक्रमण भई उपचाररत विरामी र तीनका कुरुवालाई लक्षित गरेर कोहलपुरमा भान्सा घर सञ्चालन गरेको छ । लकडाउनका कारण होटल तथा भान्सा घर बन्द हुँदा भोकभोकै बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न आज (शनिबार) विहानदेखि कोहलपुरमा भान्सा घरको सुरुवात गरिएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमाले कोहलपुर नगर कमिटी, बैजनाथ गाउँ कमिटी र युवा संघ नेपाल, बाँके, कोहलपुर र बैजनाथ गाउँ कमिटीले भान्सा घरको ब्यवस्थापन गरेका छन् । भान्सा घर सञ्चालनका लागि नेकपा एमाले बाँकेले सदस्यहरुबाट सहयोगसमेत संकलन गरेको सचिव खत्रीले जानकारी दिए ।

सचिव खत्रीका अनुसार कोरोना संक्रमित बिरामी र तीनका कुरुवालाई लक्षित गर्दै एमालेले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई दुगड ग्रुपले दुई महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको छ । बाँके र छिमेकी जिल्लाबाट आएका संक्रमित र तीनका कुरुवालाई खानाको समस्या भएपछि एमालेले सहुलियत मूल्यमा खाना खुवाउने प्रबन्ध मिलाएको छ ।

प्रत्येक दिन बिहान २०० जना र बेलुका २०० जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याइएको सचिव खत्रीले जानकारी दिए । ‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराइरहेको अवस्था आएपछि भान्सा घर सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

उनका अनुसार किनेरै खान्छुभन्दा पनि पानीसमेत नपाउने कारुणीक अवस्था सिर्जना भएपछि अभियानस्वरुप भान्सा घर सञ्चालन गरेर सहुलियत दरमा खाना खुवाउन लागिएको हो । सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि ब्यवस्थापन गरिएको उनले बताए ।

सचिव खत्रीका अनुसार सहुलियत खाना कार्यक्रमलाई केएल दुगड ग्रुपको मुख्य सहयोग छ भने अन्य बाँकेका उद्योगीहरुले पनि सहयोग गरेका छन् । संक्रमित र तीनका कुरुवाले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत दुई महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराइएको केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेडले बताए ।

‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, एमालेका साथीहरुले प्रस्ताव ल्याउनु भयो, हामीले चामल र दाल दिन्छौं भन्यौं,’ छाजेडले भने । नेपालगन्जको भेरी अस्पतालमा मित्र मण्डलीले कोरोनाको पहिलो लहरबाटै सुरु गरिएको २० रुपैयाँ छाक खानाको ब्यवस्था अहिले पनि जारी रहेको छ । बाँके र आसपासका जिल्लाबाट आएका संक्रमित तथा तीनका कुरुवाले खाना, नास्ता र पानीसमेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार १२:३४