सूचनाको शक्ति - The Power Of Information

        

कोरोना जितेका हुमबहादुरको पुनःजन्म, परिवारमा खुसीयाली

दाङ । शान्तिनगर गाउँपालिका–३ का ३८ वर्षीय हुमबहादुर परियार बिहीबार १२ दिनपछि कोरोना जितेर डिस्चार्ज भएका छन् । उनले कोरोना जित्छन् भन्ने आश न परिवारलाई थियो न आफन्तलाई । चिकित्सक र स्वास्थ्यकर्मीले पनि उनको अवस्था देखेर माया मार्न लागेका थिए । तर उनले कोरोना जितेर नयाँ जीवन पाएका छन् । अहिले परिवारमा खुसी फर्किएको छ । आफूले पुनःजन्म पाएको हुमबहादुरले बताए ।

परियार दैनिकी मजदुरी गर्ने व्यक्ति हुन् परियार उनलाई सुरुमा रुघाखोकी र ज्वरो आयो । त्यसपछि उनी धेरै बिरामी भए । तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि गए । अस्पतालले उनलाई कोरोना शंका गरेपछि उपचार नगरी पिसिआर जाँच गर्न पठायो । त्यसपछि उनलाई एम्बुलेन्समा पिसिआर जाँचका लागि घोराही लगियो । त्यतिबेला उनको अवस्था गम्भीर भइसकेको थियो ।

परियारको स्वाब पिसिआर परीक्षणका लागि दिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । त्यहाँ पनि कोरोना पुष्टि नहुँदासम्म अस्पतालमा भर्ना गरिएन । परियारका आफन्तले त्यति बेलासम्म हार खाइसकेका थिए । उनको अवस्था बिग्रिँदै गएको थियो । ‘आर्थिक अभावका कारण बाहिर लग्न पनि नसक्ने र कोरोना पुष्टि नहुँदा अस्पतालमा भर्ना नलिने भन्यो, हामीले आश मारिसकेका थियौँ,’ आफन्त प्रेम परियारले भने, ‘उहाँ बाँच्नुहुन्छ, जस्तो लागेको थिएन । बिरामीको अवस्था निकै नाजुक थियो ।’

उनले थपे, ’अब मरे पनि बाँचे पनि गाउँमै भनेर गाउँपालिकाको सम्पर्क गरेर आइसोलेसनमा लगेका थियौँ । आज १२ दिनपछि कोरोना जितेर आउँदा नयाँ जीवन पाउनुभएको छ । आज धेरै खुशी लागेको छ ।’ हुमबहादुरसँगै उनकी श्रीमती पवित्रालाई पनि कोरोना पुष्टि भएको थियो । श्रीमान् बिरामी भएपछि उपचार गर्न लैजाँदा आफूलाई पनि कोरोना संक्रमणको डर लागेको उनी बताउँछिन् । तर, आज दुवैले कोरोना जितेर घर आउन पाउँदा उनलाई नयाँ जीवन पाएजस्तो लागेको छ ।

‘हाम्रो आर्थिक अभाव निकै कमजोर छ । त्यसमा पनि श्रीमानलाई यस्तो रोग लाग्यो छ । उपचार गर्न लैजाँदासमेत अस्पतालले भर्ना लिएन । बाँचिएलाजस्तो लागेको थिएन । आज नयाँ जीवन पाएर आएका छौँ । हामीलाई बचाउने डाक्टर भगवान नै हुन्,’ पवित्राले बताइन् । परियारलाई १२ दिनसम्म आइसोलेसनमा उपचार गरेर ठिक भएपछि आफूहरुलाई पनि धेरै खुशी लागेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुन बताउँछन् । उनका अनुसार परियारलाई १७ गते कोरोना पुष्टि भएको हो ।

भने, ‘हुमबहादुरलाई आइसोलेसनमा ल्याउँदा बाँच्ने सम्भावना एक प्रतिशत मात्र देखेका थियौँ । अक्सिजनको मात्र ६० प्रतिशत मात्र थियो । हामीले मात्र नभई परिवारले समेत माया मारेका थिए । तर, आज १२ दिनपछि कोरोना जितेर जानुभएको छ । आज धेरै खुशी लागेको छ ।’ अक्सिजन अभावका बेला पनि यस्तो बिरामीलाई बचाउन सकिन्छ भन्ने आफूहरुले कल्पनासमेत नगरेको पुन बताउँछन् । हुमबहादुरलाई १० दिनसम्म अक्सिजन दिएर राखिएको थियो ।

दुई दिनसम्म अक्सिजनबिना राख्दा कुनै पनि समस्या नदेखिएपछि उनलाई र श्रीमतीलाई बिहीबार डिस्चार्ज गरिएको अस्पतालले बताएको छ । उनले आइसोलेसनमा अक्सिजन मात्र नभई अन्य स्वास्थ्य सामग्रीसमेत पर्याप्त नभएको बताए । अक्सिजन अभावले गर्दा एउटा सिलिण्डरबाट २ जना बिरामीलाई दिँदै आएका छौँ । अहिले पनि बाहिर रिफर गर्नु पर्ने बिरामी भए पनि बेड नहुँदा आइसोलेसनमा राखेको उनले बताए । गाउँपालिकाले एक जना डाक्टरलाई करारमा ल्याएर आइसोलेसन संचालन गरिरहेको समेत उनको भनाइ छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार ०९:०१