सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सल्यानका किसानको पीडा, ‘लकडाउनमा कसले खाइदिन्छ हाम्रो काफल ?’

फाइल तस्वीर

सल्यान । कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि काफल बिक्रीबाट जीविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । अघिल्ला वर्षसम्म न्यून आयस्रोत भएका ग्रामीण क्षेत्रका नागरिकहरु काफल बेचेर वर्ष दिनको खर्चको जोहो गर्थे तर यस वर्ष निषेधाज्ञा जारी हुँदा बोटमै सडेर गएको छ ।

बिक्री नहुँदा काफल रुखमै सुकेर झरेर खेर गएको त्रिवेणी गाउँपालिका–३ पिमखोलाकी टीका पुनले बताइन् । विगतका वर्षमा श्रीनगर बजारसम्म बिक्री गर्न आउने गरेको भए पनि यो वर्ष भने काफल पाक्ने सिजनमै बन्द हुँदा समस्या भएको बताउँदै उनले भनिन्, ‘काफल बिक्री गरेर घरखर्च चलाउन निकै सजिलो हुन्थ्यो तर यसपालि एक रुपैयाँको पनि बिक्री भएन ।’

अघिल्ला वर्षसम्म यो बेला एउटै परिवारले काफल बिक्री गरेर डेढ दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि यो वर्ष भने पाकेको काफल जंगल र बारीमै रहेको मेककुमारी वलीले बताइन् । गर्त वर्ष काफल बिक्रीबाट मात्रै ३० देखि ४० हजारसम्म आम्दानी गरेको बताउँदै उनले यो वर्ष भने बिक्री नै गर्न नपाएको गुनासो गरिन् ।

उनले भनिन्, ‘गत वर्ष काफल बिक्री गरेर ३० देखि ४० हजारसम्म आम्दानी भएको थियो । त्यसैबाट घरखर्च चलाउनसजिलो भएको थियो । यसपालि सबै काफल बोटमै छन् ।’ कोरोनाले विपन्न वर्गका परिवारले काफल बिक्रीबाट गर्दै आएको आम्दानीको स्रोत नै बन्द गरिदिएको तुल्सी बस्नेतले बताइन् । उनले भनिन्, ‘लकडाउनले सबै बजार पसल बन्द छन् मानिस नै घर बाहिर निस्किन डराइरहेका छन् । कसले खाइदिन्छ हाम्रो काफल ?’

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार ०८:५२