सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

एक महिनामै थपिए एक लाख ५८ हजार कोरोना संक्रमित, १६ सयको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा झुल लगाएर उपचारको पर्खाईमा रहेका विरामी तथा कुरुवाहरु । तस्वीर : सामाजिक सञ्जालबाट

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र मृत्युदरका हिसावले वैशाख महिनाले इतिहास नै रचेको छ । एक महिनाको अवधिमा संक्रमितको संख्या डेढ लाख नाघेको छ भने मृतकको संख्या एक हजार ६०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ तथ्यांक हेर्दा वैशाख १ गतेसम्म संक्रमण नियन्त्रणमै थियो ।

त्यसदिन चार हजार ७४० जनाको कोभिड परीक्षण गर्दा ६०३ जनामा संक्रमित पुष्टि भएको थियो । मृतकको संख्या त्यो दिन तीन जना थियो । कोभिड संक्रमणको ग्राफ भने वैशाख १२ गतेबाट उकालो लागेको देखिन्छ । १२ गते तीन हजार १२२ जनामा संक्रमण पुष्टि भएको थियो भने । मृतकको संख्या बढेर २८ जना पुगेको थियो ।

संक्रमितको संख्या वैशाख २७ गतेबाट ह्वात्तै बढेको तथ्यांक छ । १८ हजार ४११ जनामा कोरोना परीक्षण गर्दा एकैदिन ९ हजार २७१ जनामा संक्रमण पुष्टि भयो । मृतकको संख्या पनि बढेर एकैदिन १३९ जना पुगे । यसरी बढ्दै गएर वैशाखको अन्तिम दिन ३१ गते २०३ तीन जनाको मृत्यु भएको छ भने ८ हजार ५२० संक्रमित थपिएका छन् ।

१६०८ जनाको मृत्यु

मन्त्रालयको तथ्यांक अनुसार यो मिहनामा एक लाख ५८ हजार ९४ जना कोरोना संक्रमित भेटिएका छन् । एक हजार ८०८ जना संक्रमितको मृत्यु भएको छ भने । ५२ हजार दुई सय ६ जना कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै एक लाख तीन हजार २८० सक्रिय संक्रमित थपिए । वैशाखमा मात्र चार लाख ७ हजार ५५१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

संक्रमितको संख्या बढ्दै गएपछि यतिखेर विभिन्न अस्पतालमा बिरामी खचाखच छन् । बेड र अक्सिजनको अभाव छ । समयमा अक्सिजनको आपूर्ति नहुँदा उपचाररत बिरामीहरु मरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमण पनि अझै तीब्ररुपमा बढिरहेको छ ।

इपिमियोलोजिस्ट डा.अर्चना श्रेष्ठले ४४ जिल्लामा तीब्ररुपमा कोरोना भाइरस संक्रमण फैलिएको बताइन् । उनका अनुसार अहिले प्रतिलाख जनसंख्यामा दैनिक १० जनामा संक्रमण देखिएको छ । ‘नेपालमा संक्रमणसँगै मृत्युदर पनि भारतमा भन्दा बढी छ’ उनले भनिन, ‘प्रति १० लाखमा नेपालमा ३.३ प्रतिशतमा मृत्यु भएको छ भने भारतमा २.५ प्रतिशत छ ।’

संक्रमण पनि भारतभन्दा नेपालमा दोब्बर देखिने गरेको उनले बताइन् । समुदायमा पनि धेरै संक्रमण फैलिसकेको उनको अनुमान छ । उनले भनिन, ‘यो संक्रमण न्यूनिकरण गर्न सबैको भूमिका चाहिन्छ । लक्षण देखिएपछि बेलैमा जाँच गराउनुपर्छ । संक्रमित आफैले कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्छ ।’ उनले प्रभावकारी ढंगले कन्ट्याक्ट ट्रेसिङ गरियो भने ८५ प्रतिशत समुदायमा कोरोना संक्रमण नफैलिने बताइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार २१:३३