बाँके । नेपालगन्जस्थित भेरी अस्पतालसँग बढीमा १०० जना बिरामीलाई मात्र धान्न सक्ने क्षमताको अक्सिजन प्रणाली सञ्चालनमा छ । तर, अस्पतालको अक्सिजन प्रणालीबाट अहिले दैनिक २५० भन्दा बढी बिरामीलाई अक्सिजन सप्लाई हुन्छ । अस्पतालको कोभिड वार्डमा मात्र शुक्रबार दिउँसोसम्म २४२ जना कोरोना संक्रमित उपचाररत छन् । त्यसमध्ये ८२ जना सिकिस्त र १६० जना मध्यम खालका विरामी छन् ।
कोरोना संक्रमितको चाप अत्यधिक मात्रामा बढेपछि अस्पतालको अक्सिजन प्रणालीबाट अहिले पर्याप्त मात्रामा अक्सिजन पुर्याउन कठिन भइरहेको छ । बिरामीको चापकै कारण ‘हाइफ्लो’ अक्सिजन पुर्याउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । भेरी अस्पतालका अनुसार हाल कोरोना संक्रमित बिरामी भर्ना भएका अधिकांस बेडमा पाइप लाइनमार्फत अक्सिजन उपलब्ध गराइएको छ ।
‘सेन्ट्रल सप्लाई सिस्टम’ जडान भएकाले सबै बेडमा समान हिसाबले अक्सिजन पुग्छ । तर, अक्सिजनको ‘फ्लो’ कम हुँदा सिकिस्त बिरामीलाई बचाउनै कठिन भइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा उपचारका क्रममा मृत्यु भएका अधिकांस संक्रमित सिकिस्त खालका बिरामी हुन् । ‘अक्सिजनको फ्लो कम भएकै कारण बाँच्ने खालका कोरोना संक्रमित पनि भटाभट मर्न थाले, अस्पतालको अक्सिजन सिस्टम नै बन्द हुने स्थिति आइसक्यो,’ एक स्वास्थ्यकर्मीले भने ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको तुलनामा भेरी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या दैनिकजसो बढी नै हुन्छ । भेरी अस्पतालमा संक्रमितको मृत्यु धेरै हुनुको एउटा प्रमुख कारण अक्सिजन वितरण प्रणाली रहेको अधिकांस स्वास्थ्यकर्मीको बुझाई छ । अक्सिजनको फ्लो कम हुँदा भेन्टिलेटरले प्रभावकारी रुपमा काम गर्न नसकेको र भेन्टिलेटरमा राख्दा अक्सिजनको खपत बढ्ने तथा भेन्टिलेटरमा राखेका बिरामी निको हुने दर उत्साहप्रद नदेखिएको अस्पताल प्रशासनले जनाएको छ ।
यस्तो बाध्यात्मक परिस्थिति आएपछि अक्सिजनको मात्रा कम भएका बिरामीलाई अक्सिजन कम खपत हुने अर्थात् ‘सिपिएपी’ विधि प्रयोग गरिएको अस्पताले एक सूचनामार्फत जानकारी दिएको छ । भेरी अस्पतालद्वारा जारी गरिएको सूचना अनुसार बिरामीलाई आइसियू चाहियो भनेर भौंतारिनु भन्दा अक्सिजनसहितको बेड जहाँ पाइन्छ त्यही उपचार गराउनु बुद्धिमतापूर्ण हुने अस्पतालले सूचनामार्फत प्रष्ट्याएको छ ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले बिरामीको चाप धेरै भएपछि अक्सिजन प्रणालीमा समस्या निम्तिएको बताए । ‘अक्सिजन लोड धेरै छ, हामीले जतिसक्दो अक्सिजन खपत कम गर्ने विधी प्रयोग गरिरहेका छौं, भेन्टिलेटरमै राख्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘बिरामीलाई भेन्टिलेटरमा राखियोस् भन्ने हुन्छ, बढीभन्दा बढी बिरामीलाई हाम्रो क्षमताको अक्सिजनले कसरी ब्यवस्था मिलाउन सकिन्छ, यो एड्जेस्टमेन्ट हो ।’
अस्पतालमा भर्ना हुने सिकिस्त खालका कोरोना संक्रमित बिरामीलाई अहिलेको अक्सिजन प्रणालीबाट पर्याप्त अक्सिजन दिनै नसकिने मेसु थापा बताउँछन् । अस्पतालका अनुसार अहिले इमर्जेन्सीका १६ मध्ये सबै बेडमा बिरामी भरिएकाले इमर्जेन्सी अगाडी टेन्ट टाँगेरसमेत उपचार थालिएको छ । अस्पतालमा आइपुगेका जटिल बिरामीलाई फिर्ता गर्नुभन्दा अक्सिजन दिएर ज्यान बचाउने अन्तरिम तर बाध्यात्मक परिस्थिती भएको अस्पतालले जनाएको छ ।
अस्पतालका एनेस्थेसियोलोजिष्ट डा.पारश पाण्डे पनि अस्पतालमा आएका सबै संक्रमित बिरामीलाई पुग्ने अक्सिजन प्रणाली चल्नै नसक्ने बताउँछन् । पाइप लाइनबाट वितरण गरिएको अक्सिजनले नपुग्दा त्यसको विकल्पमा सिलिण्डर लगायत उपकरणबाट काम चलाइरहेको एनेस्थेसियोलोजिष्ट डा.पाण्डेले सुनाए ।
‘धेरै सिकिस्त बिरामीलाई एकदम धेरै अक्सिजन दिनुपर्यो भने त्यो दिन सम्भव नै छैन, यसको लागि त सिस्टम नै ठूलो चाहिन्छ,’ पाण्डेले भने, ‘यति धेरै बिरामीलाई हाइफ्लो अक्सिजन दिने भनेको त हाम्रो सिस्टमभन्दा बाहिरको कुरा भयो, अहिलेको सिस्टमले त १०० जना जति बिरामीलाई मात्र हाइफ्लो अक्सिजन दिन सक्छ, दैनिक २५० भन्दा बढी बिरामीलाई अक्सिजन दिन थालेपछि सिस्टमले कसरी थेग्न सक्ला र ?’
भेरी अस्पतालको अक्सिजन प्रणालीले कोरोना महामारीका लागि चाहिने अक्सिजन दिनै नसक्ने डा.पाण्डे बताउँछन् । अस्पतालसँग उपकरण भए पनि अक्सिजन प्रणालीले धान्नै नसक्ने स्थिति आएको यहाँका चिकित्सक बताउँछन् । अस्पताल स्रोतका अनुसार अक्सिजन प्रणालीले धान्न नसक्दा कोभिड वार्डभित्र तीन वटा मात्र भेन्टिलेटर अहिले सञ्चालनमा छन् । डा.पाण्डे भन्छन्, ‘हाम्रो यहाँ एकछिन पनि अक्सिजन बन्द भएको छैन, तर थोरै मात्रामा अक्सिजन सप्लाई भइरहेको छ, एकदमै सिकिस्त बिरामीलाई चाही यो अक्सिजन प्रणालीले बचाउन सकिदैन ।’
अस्पतालमा अहिले दैनिकरुपमा ४०० देखि ४५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालले लिक्विड अक्सिजन ट्यांक खरिद गरेर ल्याए पनि त्यसलाई जडान गर्न सकेको छैन । ‘दैनिकरुपमा जति सिलिण्डर प्रयोग गरे पनि अक्सिजन सप्लाई कम परेको छ, लिक्विड अक्सिजन सञ्चालनमा आइहाले पनि बिरामीको चाप कति हुन्छ, त्यसमै भरपर्छ,’ डा.पाण्डेले भने । अक्सिजन प्रणालीले काम नगर्दा अहिले सिकिस्त बिरामीलाई बचाउनै अस्पताललाई हम्य–हम्य परिरहेको छ । ‘अहिले छातीमा निमोनिया नभएका बिरामीलाई मात्र बचाउन सकिएको छ, सिरियस बिरामीलाई बचाउनै सकिएको छैन,’ पाण्डेले थपे ।
।